यात्राको सोच
यदि कोही यात्राका पारखी सङ्खुवासभा पुग्छन् भने उसको लागि सभापोखरी एउटा खास गन्तव्य हुने गर्दछ । २०६४ सालमा धनकुटा बहुमुखी क्याम्पस पढ्दा सभापोखरीको बारेमा सङ्खुवासभाका साथीहरूले रोचक प्रसङ्ग सुनाउनु हुन्थ्यो । उसबेलादेखि म भविष्यमा कुनै समय त्यो गन्तव्यमा पुग्ने छु भन्ने सोचेको थिएँ । तर कलेजमा भइन्जेल पढाइको कारण र कलेज सकिए पछि भूगोलको कारण उक्त गन्तव्य मेरो लागि मृगतृष्णा बन्दै गइरहेको थियो । अब कलेज छाडेको पनि धेरै वर्ष व्यतित भइसकेको थियो । चिनेका साथीहरू पनि आफ्नो आफ्नो करिअर बनाउन लागिसकेका थिएँ । यस कारण मैले सभापोखरी जाने कुरालाई बिर्सदै गएको थिए ।
कामको सिलसिलामा म २०७४ सालको चैत महिनामा सङ्खुवासभा पुगेँ । तर त्यस बेला मैले सभापोखरी पुग्ने बारेमा केही सोच्न पाएको थिइँन । केही समय सङ्खुवासभा बसे पछि स्थानीय बासिन्दाहरूसँग उक्त गन्तव्यको बारेमा बुझ्न सुरु गरेँ । बढी उचाइमा पर्ने भएकाले उक्त ठाउँमा वर्षको १ पटक मुख्य सिजनमा मात्र जान सकिने रहेछ । हिउँद याममा त्यहाँ अत्याधिक चिसो हुनाले जान नसकिने रहेछ । माथिल्लो भेगमा मानव वस्ती पनि रहेनछ । यसै कारण मैले सभापोखरी यात्रालाई थाती राखेर आफ्नै नियमित कामहरूमा तल्लिन हुन थाले ।
केही समयपछि मेरो कलेजको साथी निर्मलासँग भेट हुँदा फेरि सभापोखरी यात्राको विषयले उठान पायो तर उक्त ठाउँ पुग्न निकै कठिन छ भन्ने सारमा कुराकानी टुङ्गियो र सभापोखरी यात्रा जिब्रोमै सेलायो । केही समय पछि चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा र मकालु गाउँपालिका उपाध्यक्ष चमेली राईले हेलिकप्टरबाट सभापोखरी जाने मिठो कुरा गर्नु भयो । दुई गोडाको भरमा पुगेको र आकाशमा उडेर पुगेको गन्तव्यबिच अनुभूति र रोमाञ्च तुलना गर्न मिल्ने कुरा थिएन ? तसर्थ यी प्रस्तावहरू उपर खास केही प्रतिक्रिया जनाइन । बिस्तारै मेरो सङ्खुवासभा बसाइँ छोटिदै थियो । सभापोखरी पुगेर मात्र सङ्खुवासभा छाड्ने सङ्कल्प गरेको थिएँ । एक दिन निर्मलासँग फोनमा सभापोखरी जाने योजना बनाउन सकिने कुराकानी भयो । मेरा सहकर्मी मित्रहरूसँग सभापोखरी जाने बारे छलफल गरेँ । जोशन गुरुङ, गौरब थापा, चन्द्र प्रकाश राई र प्रकाश ढुङ्गानाले पनि सभापोखरी यात्रामा निस्कने निधो गरे ।
यात्रारम्भ (२०७५ भदौ ७)
हामी सबै जना यात्राका क्रममा आवश्यक पर्ने बन्दोबस्तीका सामानहरू रेन कोट, स्लिपिङ म्याट, ड्राइ फुड, प्राथमिक उपचारका औषधि सहित खाँदबारीबाट दिउँसोपख बाह्रबिसे तर्फ हिँड्यौ । हाम्रो टिममा अरू तीन जना सदस्यहरू पनि थपिनु भयो । तीन चार घण्टाको पैदल हिँडाइ पछि हामी सभापोखरी पुगेर निर्मलाको बुबाआमासँग भेट भयो । हामीसँग दुर्गामणि तामाङ पनि जोडिनु भयो । मेरो कलेज पढ्दाको साथि दखिन राईसँग पनि भेट भयो । दखिनलाई पनि सँगै जाऊँ भनेर अनुरोध गरेँ । तर उनले केही औषधि लिइरहेको हुनाले धेरै जोड बल गर्न चाहेनौँ । बाटोमा भेटिने जुकासँग बच्न निर्मलाको बुबाले हामी सबै जनालाई पेट्रोल, सुर्ती र नुन मिक्स गरेर बट्टा तयार गरिदिनु भयो । हामीलाई बाह्रबिसेमा धेरै गर्मी भइरहेको थियो । भोलिपल्ट सबैरै उठेर सभापोखरीको यात्रालाई सुचारु गर्यौँ ।
मुसलधारे वर्षा र यात्रा (२०७८ भदौ ८)
हामी हिँडदै जाँदा केही पर जङ्गलमा पुग्यौँ । हामी अघि बढ्दै थियौँ । पारिपट्टिबाट हामीलाई केही मान्छेहरूले चिच्च्याउँदै त्यहाँबाट फर्कन आग्रह गरेँ । कुरा बुझ्दा हामी हिँडदै गरेको बाटो माथिबाट पहिरो खस्दै रहेछ । हामी सबैजना सकेसम्म छिटो गरेर पछाडि फर्केर ज्यान बचाउन सफल भएकोमा लामो सास फेर्यौ । यो त केवल साहसिक यात्रा सुरुवातको सङ्केत मात्र अझ धेरै टाढा अप्ठ्यारासँग जुध्न बाँकी नै थियो । हामी पहिरो मुनिको बाटो डाइभर्सन गरेर अगाडि बढ्यौ । ठाउँ ठाउँमा बाटोहरू निकै कठिन थियो । बाटो माथिबाट पहिरो खस्ला कि भन्ने डरले उच्च सतर्कता अपनाउँदै जति नै थकान महसुस भए पनि खुला स्थानमा पुगेर मात्र बिश्राम गर्थ्यौँ ।
हिँडाइको गतिको र प्रचण्ड घाम लागेको कारण हामी सबैजना ओइलाउँदै गइरहेका थियौँ । सु्स्तरी पाइला चाल्दै हिँडिरहेका थियौँ । प्रचण्ड सूर्यको प्रकाशलाई बादल आएर छेक्यो । हामीलाई गर्मीबाट निकै राहत अनुभव भयो तर त्यो राहत केही छिनमै आहतमा बदलियो जब मुसलधारे भारी वर्षा सुरु भयो । हामीसँग भएको छाता खोलेर वर्षातलाई छेक्ने प्रयत्न गर्यौँ । तर छड्के पानी परेको हुनाले छाताको उपयोग प्रभावकारी हुन सकेन । त्यसपछि हामी सबैजनाले आ-आफ्नो झोलामा भएको क्यामेरा, मोबाइल, खानेकुरा बचाउन रेन कोट र छाता दुबै प्रयोग गर्न थाल्यौँ । केही क्षणसम्म त हामीलाई सहजै भयो । हामीले लगाएको रेनकेट बाक्लो भएकाले हामीलाई उखरमाउलो गर्मी भयो । हामीलाई प्रेसर कुकरभित्र पसेको जस्तो गाह्रो भइरहेको थियो । बिचमा बाटोमा ओत लाग्ने ठाउँ पनि थिएन । तसर्थ हामीसँग पानीमा रुझ्दै अगाडि बढ्नुको विकल्प थिएन । केही घण्टाको तेर्सो बाटो हिँडेपछि अब उकालो चढ्न थाल्यो । भारी वर्षाले हाम्रो यात्रालाई निकै असहज बनाइरहेको थियो । केही घण्टा माथि एउटा गाउँ रहेछ । त्यो गाउँमा पुगेर बिहानको खाना खाने सल्लाह गरेका थियौँ । त्यस बिचमा कुनै वस्ती थिएन ।
उकालो चढ्दै जाँदा हामीलाई केही शितल पनि हुँदै गयो । पानी नपरेको भए रेन कोटलाई बोकेर जान सकिन्थ्यो । सायद निकै सहज हुने थियो । केही घण्टाको अनवरण हिँडाइपछि हामी एउटा चौतारीमा पुगेर गह्रौ झोला बिसायौँ । साथीको खुट्टाबाट रगत बगिरहेको देखेँ । हामी सबैको ध्यान उहाँको खुट्टामा गयो । कहाँ लडेर चोट लाग्नु भयो हो भनेर सोध्यौँ । तर उनले कही पनि केही भएको छैन भन्नु भयो । जुकाले खाएर रगत बगेको रहेछ । यसको मतलब अब हामी हामी जुका पाइने क्षेत्रमा आइपुगेका रहेछौँ । केही बेर अघिसम्म हिलाम्मे पानी बगिरहेको ठाउँमा टेक्दा चिप्लिएर लडिन्छ भनेर छेउ छेउको बाटोमा हिँड्थ्यौ तर अब जुकाबाट बच्नको लागि बिच बिचबाट हिँड्न थाल्यौँ । तर खुसीको कुरा हामी मध्ये कसैलाई पनि जुकासँग खासै डर नलाग्ने रहेछ ।
दिउँसोको बाह्र बजेतिर हामीले खाना खाने ठाउँमा पुग्यौ । त्यहाँ एउटा घर रहेछ । त्यस घरका मानिसहरूलाई खाना बनाइदिन आग्रह गर्यौ र हामी सबै जना शरीरमा कतै जुका टाँसिएको छ कि भनेर हेर्न थाल्यौ । बाटोमा निकै जुकाहरू हाम्रो शरीरमा टाँसिइसकेको रहेछ । कति साथीहरूलाई त रगत चुसेर गइसकेका रहेछन् भने कति जुकाहरु रगत चुसिरहेका थिएँ । मलाई भने जुकाले टोक्न पाइसकेका थिएनन् । किनकि मैले बाटोमा हिँड्दा नै ख्याल गर्दै कुनै जुका टाँसिएमा जुका मार्ने पेट्रोल मिसिएको झोलले जुकालाई छोइदिएको थिएँ ।
हामी सबै जनाले रेनकोट फुकालेर झोलालाई मिलायौँ । सुरुमा हिँडदा ठिकै गह्रौ लागेको झोला अब निकै भारी लाग्न थालि सकेको थियो । हामी सबै जना करिब ६ घण्टा पानीमा रुझ्दै हिँडेकाले निकै थाकेका थियौँ । हामी केही बेर सुस्तायौँ । खाना पनि पाक्यौ । खाना खायौ । अब भने पानी पर्न छाडेको थियो । खानाको पैसा दिएर हिँड्ने जमर्को गर्दै गर्दा दश बाह्र जना सभापोखरीबाट फर्केका मानिसहरू पनि त्यही आइपुग्नु भयो । उहाँहरू तीन दिन अगाडि सभापोखरी गएका रहेछन् । हामीले सङ्क्षेपमा यात्राको प्रसङ्ग उठायौँ । हामीलाई भर्खरै जुकाले रगत चुसेको कुरा पनि सुनायौँ । उहाँहरू सबै जना मुस्कुराउँदै भन्नु भयो आज तपाईंहरूले जुका देख्न पाउनु हुन्न भोलि जुकाको राजधानी पुग्नु हुनेछ । उहाँहरुको यो कुरा सुन्दा हामीमा केही विस्मयको बादल पनि छायो । अब भने हामी उहाँहरूसँग छुटेर अगाडि बढ्यौ । अहिले हामीलाई हिँड्न सहज भयो किनकि पानी परेको थिएन, छाता ओढ्नु पर्दैन थियो, रेन कोट लगाउन पर्दैन थियो झोलालाई पानीबाट बचाउन पर्दैन थियो ।
हामीले तेर्सो बाटोलाई छाडिसकेको थियौँ । हाम्रो अगाडिको बाटो हिँडे पनि उकालो बसे पनि उकालो थियो । शरीरमा थकान महसुस भइरहेको थियो । तर आजको दिन हामीले जसरी पनि मानव वस्तीको सबैभन्दा माथिल्लो भागमा पुग्नु पर्ने हुन्थ्यो । त्यस पछाडि कुनै वस्ती थिएन । र त्यो वस्तीको टुप्पोमा पुग्न नसके हामी भोलिपल्ट सभापोखरी पुग्न असम्भव थियो । यदि भोलि सभापोखरी पुग्न नसके सभापोखरीमा आवास सुविधा दिन बसेका व्यवसायीहरू पनि फर्कने रहेछन् । तसर्थ हामीले सुस्तरी सुस्तरी आफ्नो पाइलाहरू अगाडि बढाइरह्यौ ।
दिउँसोको साँढे तीन बजेतिर हामी एउटा खोलाको पुल पारि गएर बिसायौँ । हामीलाई भोक, प्यास र थकान लागेको थियो । त्यहाँ हामीले बोकेका ड्राइ फुड र ड्रिङ्क्स खाने सल्लाह भयो । उकालो बाटोमा झोलाले धेरै तलतिरै नतानोस् भनेर सबै जनाले आफ्नो झोलामा भएको खानेकुरा खाऊँ भन्ने चाहन्थे । झोलाको तौल घटाउन चाहन्थे । सबैले आफ्नो झोलाबाट अलिअलि खानेकुरा सगोलमा मिसाएर खायौँ । त्यो बाटो ओहोरदोहोर गर्ने मानिसहरूलाई वस्तीको टुप्पोमा पुग्ने लाग्ने समय बारे सोध्दा कसैले एक घण्टा त कसैले दुई घण्टा भन्नु हुन्थ्यो । हामी साँझको पाँच बजेसम्म त्यस दिनको गन्तव्यमा पुग्ने अनुमान गरेका थियौँ ।
उकालो चढ्दै जाँदा हाम्रो पाइलाहरू मन्द हुँदै गइरहेको थियो । सभापोखरीबाट फर्कनेहरू फटाफट ओरालो झरिरहेका हुन्थे । हामीलाई पनि उकालो चढ्न निकै सकस भइरहेको थियो । उकालो चढ्दै जाँदा हामीलाई चिसो महसुस हुन थालेको थियो । घाम पनि डाँडातिर पुग्दै थियो । केही बेर अघिसम्म पसिनाले निथुक्र्क भिजेका शरीरमा पसिना सुकिसकेको थियो । हामी घाम डुब्दासम्म डाँडामा पुग्ने अनुमानमा थियौँ । तर हामीले समयमा त्यस दिनको गन्तव्यसम्म पुग्न सकेनौँ । तथापि हामी अगाडि बढिरह्यौँ । अन्तत: साँझको ७ बजेतिर हामी डाँडामा पुग्न सफल रह्यौ । हामीलाई त्यो डाँडामा पाइला टेक्दा ठुलो सफलता हात परेको जस्तो अनुभव भयो । हामीले त्यहीँ डाँडाको चौतारीमा झोला बिसाएर बिश्रान्तिको गहिरो सास फेर्यौँ । त्यसमा डाँडा वरिपरि दुई तीन वटा घरहरू रहेछन् । कुन घरमा बस्न पाइएला भन्ने बुझ्न एकजना साथी कुराकानी गर्न जानु भयो । हामी भने डाँडामा नै बसिरह्यौ । केही क्षणपछि बस्ने घर पक्का पक्की गरेर हामीलाई लिन आउनु भयो ।
घरमा ओढ्ने ओछ्याउने कपडाहरू र खानेकुरा छैनन् भनेर घरबेटीले प्रष्ट पार्नु भएको रहेछ । हामीले ओढ्न ओछ्याउन स्लिपिङ ब्याग, म्याट बोकेका थियौ । खाना पकाउनको लागि पनि दाल, चामल, तेल, कराई, कागजको प्लेटहरु बोकेका थियौँ । हामीलाई बस्नको लागि छहारी मात्र चाहिएको थियो । त्यसैले हामीलाई त्यहाँ बस्न कुनै कठिनाइ थिएन । हाम्रो त्यस दिनको यात्रामा त्यति धेरै कठिनाइको सामना गर्नु परेन । भोलिको दिनको यात्रालाई सम्झिदै थियो । दिनभरीको थकानले गर्दा चाँडै हामी निद्रादेवीको काखमा पुग्यौँ ।
जुकासँग लुकामारी