१.४ तीन तहको सरकार बिच राष्ट्रिय नीति, विषय क्षेत्रगत नीतिहरू बिचको समन्वय र अन्तरसम्बन्ध
पृष्ठभूमि
संवैधानिक व्यवस्थाबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त (Principle of Cooperation, Coexistence and Coordination) मा आधारित रहेको छ । यि तीन तहले एक अर्काको साझा चासो, सरोकार र राष्ट्रिय लक्ष्य तथा हितको विषयलाई ध्यानमा राखी आफ्नो सामाजिक, आर्थिक र सांस्कृतिक विकासका प्रयासहरू अगाडि बढाउँछन् ।
सङ्घीयता कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार नहुनु, एक-अर्का सरकारबिच अपेक्षित समन्वय नहुनु, प्रदेश र स्थानीय तहको क्षमता विकासको योजना नबन्नु, साझा अधिकारको बुझाइमा एकरूपता नहुनु प्रमुख समस्याको रुपमा रहेको छ ।
संविधानप्रति सबै सरोकारवालाको समान बुझाइ कायम गर्नु, साझा अधिकारको सूचीमा थप स्पष्टता ल्याउनु, बढ्दो जनआकाङ्क्षालाई सम्बोधन गर्नु, सबै तहमा प्रशासन र राजनीतिबिच अन्तरसम्बन्ध परिभाषित गर्नु, सहकारी सङ्घीयताको मूल्य र मान्यतालाई आत्मसात गर्नु, सबै प्रदेश र स्थानीय तहलाई एउटै दिशातर्फ अग्रसर गराउनु, तीन तहबिच राजनीतिक समझदारी कायम गर्दै समन्वयको संस्कारमा अभिवृद्धि गर्नु र तहगत समन्वयको लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्नु प्रमुख चुनौती रहेका छन् ।
सङ्घ र प्रदेश बिचको व्यवस्थापकीय अन्तरसम्बन्ध
सङ्घीय कानुन नेपालभर वा आवश्यकताअनुसार नेपालको कुनै क्षेत्रमा मात्र लागु हुने गरी बनाउन सकिनेछ ।
प्रदेश कानुन प्रदेशभर वा आवश्यकताअनुसार प्रदेशको कुनै क्षेत्रमा मात्र लागु हुने गरी बनाउन सकिनेछ ।
दुई वा दुई भन्दा बढी प्रदेशले प्रदेशको एकल अधिकार सूचीमा उल्लिखित कुनै विषयमा कानुन बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेमा सम्बन्धित प्रदेशमा लागु हुने गरी सङ्घीय संसदले आवश्यक कानुन बनाउन सक्नेछ ।
सङ्घ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध
सङ्घ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त (Principle of Cooperation, Coexistence and Coordination) मा आधारित हुनेछ ।
नेपाल सरकारले राष्ट्रिय महत्व र प्रदेशहरू बिच समन्वय गर्नु पर्ने विषयमा प्रदेश मन्त्रिपरिषद्लाई संविधान र सङ्घीय कानुनबमोजिम आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रदेश मन्त्रिपरिषद्को कर्तव्य हुनेछ ।
प्रदेश मन्त्रिपरिषद् तथा प्रदेश सभा निलम्बन भई सङ्घीय शासन कायम रहेको अवस्थामा सङ्घीय संसदले प्रदेशको एकल अधिकार सूचीमा उल्लिखित विषयमा कानुन बनाउन सक्नेछ ।
नेपाल सरकारले आफैं वा प्रदेश सरकार मार्फत स्थानीय तहलाई संविधान र सङ्घीय कानुन बमोजिम आवश्यक सहयोग गर्न र निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कर्तव्य हुनेछ ।
प्रदेश-प्रदेश बिचको सम्बन्ध
एक प्रदेशले अर्को प्रदेशको कानुनी व्यवस्था, न्यायिक वा प्रशासनिक निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ ।
एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदानप्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विधायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ ।
एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ।
सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय
सङ्घ, प्रदेश र स्थानीय तह बिच समन्वय कायम गर्न सङ्घीय संसदले आवश्यक कानुन बनाउनेछ ।
प्रदेश र स्थानीय तह बिच कुनै राजनीतिक विवाद उत्पन्न भएमा प्रदेश सभाले सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरी त्यस्तो विवादको समाधान गर्न सक्नेछ ।
स्थानीय तहलाई गर्नु पर्ने सहयोग
स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा प्रकिया प्रारम्भ हुने समय अगावै सङ्घीय सरकार र प्रदेश सरकारको बजेट सीमा र राष्ट्रिय तथा प्रदेशको प्राथमिकता, मापदण्डसहितको मार्गदर्शन उपलब्ध गराउने,
नेपाल सरकारले आवश्यक नमुना कानुनको ढाँचा तयार गरी उपलब्ध गराउने,
स्थानीय तहको अधिकार क्षेत्रको विषयसँग सम्बन्धित समानान्तर कार्यालय खारेज गरी स्थानीय तहको विषयगत एकाइको क्षमता विकास गर्ने,
स्थानीय तहमा कार्यान्वयन हुने योजना स्थानीय तहको समन्वयमा सञ्चालन गर्ने,
कुनै योजना स्थानीय तहबाट सञ्चालन गर्दा प्रभावकारी हुने देखिएमा स्थानीय तहबाट कार्यान्वयन गर्ने,
स्थानीय तहको निर्णय कार्यान्वयनमा सहयोग गर्ने,
स्थानीय तहले सडक, भौतिक पूर्वाधार, एकीकृत वस्ती विकास तथा सहरी योजना, भू-उपयोग योजना, उपभोग्य सेवा, सामाजिक सेवा तथा पूर्वाधारको निर्माण, सञ्चालन वा व्यवस्थापन गर्दा नेपाल सरकार र प्रदेश सरकारले तोकेको राष्ट्रिय तथा प्रादेशिक मपादण्ड अवलम्बन गर्नुपर्ने ।
बहुतहगत नीति निर्माण र कार्यान्वयन
सङ्घले राष्ट्रिय स्वार्थ (National Interest) मा केन्द्रित भई शासकीय र विकास व्यवस्थापन (Governance and Development Management) मा प्रदेश तथा स्थानीय तहलाई सक्षम र जबाफदेही बनाउने,
नागरिकको संरक्षण र सशक्तीकरणमा योगदान र नागरिक अधिकारमुखी दृष्टिकोण (Right Based Approach) लाई आत्मसात गर्ने,
सबै तहका सरकार बिचको सहकार्य र सामञ्जस्य (Collaboration and Compatibility) मा जोड दिन सहसिर्जना (Co-creation), सहनिर्माण (Co-construction), सहतर्जुमा (Co-formulation) तथा सहनिर्धारण (Co-determination) को विधि अवलम्बन गर्ने,
प्रदेश र स्थानीय तहको क्षमता विकास र सहजीकरण, उत्प्रेरणा र नीतिगत संस्कारको विकासमा विशेष जोड दिने,
सार्वजनिक नीति निर्माण र प्रभावकारी कार्यान्वयनका आधारमा सङ्घीयताको संस्थागत विकास गर्ने,
सार्वजनिक नीति प्रणालीको बैधता हासिल गर्न नागरिक र सरोकारवालाको अर्थपूर्ण सहभागिता हासिल गर्ने,
नीतिगत समयानुकूलन (Customization) का लागि सहकार्य तथा संस्थागत, व्यवस्थापन र स्रोत परिचालनमा अनुकूलनको तरिका अवलम्बन गर्ने,
भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक विविधताको सम्मान गर्ने,
सामाजिक मूल्य मान्यतालाई समृद्धि उन्मुख तुल्याउने र यसका लागि रुपान्तरणको पद्दति आत्मसात गर्ने,
सबै तहका शासकीय व्यवस्थामा राजनीतिक उद्यमशीलताको विकास र उपयोग गर्ने,
राजनीतिक भन्दा सामाजिक आर्थिक समृद्धिउन्मुख विवेकशीलतामा जोड दिने,
नीतिगत स्थानीयकरणलाई बढावा दिन राजनीतिक तथा व्यवस्थापकीय तहमा आवश्यक सामर्थ्य र कौशलको विकास गर्ने,
परिवर्तनको सक्षम व्यवस्थापनको लागि सामाजिक संवादका माध्यमबाट अवरोध गर्ने तत्त्वहरूलाई व्यवस्थापन र सहयोग गर्ने तत्त्वहरूलाई उत्प्रेरणा दिने गरी गतिशील सन्तुलन (Dynamic Equilibrium) कायम गर्ने उपाय अवलम्बन गर्ने,