दाइ कहाँ को? दमौलीको बैनी? मै डुम्रे बजारको ... धेरै सुनिएको गीत थियो । ताप्लेजुङ हुँदा चिनजान भएको इन्जिनियर प्रताप हड्खलेको बिहेको निम्तो आएको थियो । जन्त जाने निम्तो बैशाख १४, २०७९ को थियो । साथीहरूसँग तनहुँको दमौलीमा निम्तो मान्न जाने सल्लाह भयो । दिपक उप्रेती बाहेक अन्य साथीहरू व्यस्तताको कारण जान सक्नु भएन । हामी बिहेको अघिल्लो दिन काठमाडौँबाट दमौलीतिर लाग्यौँ । झापाबाट आउनु भएका दिपक पोख्रेल र युवराज ओलीसँग पनि भेट भयो । हामी सबै जना विवाहमा सरिक भयौँ । सुखद दाम्पत्य जीवनको शुभकामना र मायाको चिनो दियौँ । छाब्दी बाराही मन्दिर र व्यास गुफा पनि घुम्यौँ ।
हामी बिहेको दिन नै आ-आफ्नो ठाउँमा फर्कने कार्यक्रम थियो । युवराज ओली झापा फर्कनु हुने भएकाले पोखराबाट आउने साँझको गाडीको टिकट काट्यौँ । दमौलीबाट जानु पर्ने भए पनि गाडीको भाडा भने पोखरादेखिको नै तिर्नु पर्ने रहेछ । टिकट लिनुको विकल्प थिएन । उहाँले बिर्तामोडसम्म जाने टिकट लिनु भयो । हामी तीन जनाको गन्तव्य भने काठमाडौँ थियो । काठमाडौँ जाने गाडी भने प्रशस्तै पाइन्छ भन्ने आश्वासन पायौँ । त्यहाँका अन्य स्थानीयवासीसँग बुझ्दा पनि रातको १०-११ बजेसम्म सहजै गाडीहरू पाइन्छ भन्ने कुरा थाहा भयो । त्यहीँ भएर हामीले टिकट लिएनौँ । जुन गाडी पाइन्छ त्यस मै जाउँला भन्ने निधो गर्यौ ।
युवराज ओलीको बेलुकी सात बजे दमौलीबाट गाडी छुट्ने थियो । हामीले उहाँलाई दमौलीबाट बिदा गर्यौँ । त्यसपछि हामी पनि प्रताप र उहाँको परिवारसँग बिदा मागेर दमौलीबाट निस्कने तयारी गर्यौँ । तर उहाँहरूले हामीलाई केही छिन पर्खिन आग्रह गर्नु भयो । हामीले नकार्न सकेनौँ । प्रतापको आमाले हामी तीन जनालाई झोलामा रोटी र कसार खाजा लगाइदिनु भयो । अब भने हामी प्रतापको सपरिवारसँग बिदाइ भई काठमाडौँ जाने गाडीलाई पर्खेर बस्यौँ ।
हामीले गाडी कुरेको केही छिनमा एउटा बस आयो । त्यसलाई हामीले रोक्यौँ । त्यो बस नारायणगढ सम्म जाने रहेछ । मुग्लिङसम्म जानुहोला त्यसपछि जुन गाडी भए पनि पाइन्छ भने पनि हामीले इन्कार गर्यौँ । किनकि हामीलाई सिधै काठमाडौँ जाने गाडी चाहिएको थियो । बिच बिचमा गाडी फेर्दै जान हामीलाई मन थिएनँ ।
केही समय पछि अर्को गाडीलाई काठमाडौँ जाने इशारा गर्यौ । त्यो गाडीको कन्डक्टरले क्याबिनमा बसेर जानु पर्ने भने पछि हामी पछि सर्यौ । हामीलाई आरामदायी तरिकाले गाडीमा यात्रा गर्नु थियो । साथीहरू फोल्डिङ सिटमा आरामले सुतेर जाने कल्पना गर्दै थिए । त्यो गाडीलाई पनि हामीलाई शुभ यात्रा भनेर पठायौँ ।
यसै गरी हामी काठमाडौँ जाने गाडीलाई हातको इशाराले रोक्थ्यौँ । तर ती गाडीहरू सिट फुल भएकाले रोकिदैँन थिए । रात पनि ढल्कदै गइरहेको थियो । काठमाडौँ जाने कुनै पनि गाडी रोकिन मानेको थिएन । अब भने बिस्तारै हामीलाई गाडी नपाइने सुर्ता लाग्न थालेको थियो । यसपछि हामी मुग्लिङसम्म मात्र जाने गाडी भए भेटिए पनि त्यसमै जाने निधो गरी सडकमा आउने जुनसुकै गाडीलाई रोक्न थाल्यौ । तर कुनै कुनै गाडी रोकिन मानिरहेको थिएन ।
रातको दश बजिसकेको थियो । हामी सडकमा यता उता भौतारिहेको थियौ । बाटोमा आउने जुनसुकै गाडीलाई हातको इशाराले रोक्न खोज्थ्यौँ । भोक पनि लाग्न थालेको थियो । झोलाबाट रोटी र कसार झिकेर खान थाल्यौँ । दमौली सहर बिस्तारै सुस्ताउँदै थियो । हामी भने घरिघरि गुड्ने गाडीलाई हात दिँदै बसिरहेका थियौँ ।
एक जना रक्सीले मातेर खुट्टा लर्खराइरहेको मान्छे हामीकहाँ हामीलाई पैसा माग्न थाल्यो । म संसारको सबैभन्दा गरिब मान्छे हुँ । मेरो कोही पनि छैन भन्दै हामीलाई पैसा मागिरहेका थिएँ । दिपक उप्रेतीले ती मान्छेलाई हामी पनि उस्तै हो । हामीसँग पनि पैसा नभएकाले गाडी रोक्न मानेको छैन । हामीलाई केही खाजा खाने पैसा दिनुहोस् न भन्न थाल्नु भयो । अन्त्यमा उनले दिपक उप्रेतीलाई पाँच रुपैयाँ दिन तयार भए । पाँच रुपैयाँले त केही पनि किन्न नआउने भने पछि उनले म पैसा खोजेर आउँछु भनी त्यहाँबाट हिँडे । केही छिन पछि ती व्यक्ति फेरि हामी भए ठाउँमा आएर कतै पैसा पाइनँ भनेर हामीबाट बिदा भएँ ।
हामी सोच्न थालेका थियौँ । आजको रात दमौलीमा नै बिताउनु पर्छ र भोलि बिहान काठमाडौँ जानु पर्ला । विरगञ्ज जाने गाडीलाई हामीले रोक्यौँ । मानिसहरू खचाखच यात्रा गरिरहेका थिएँ । त्यही पनि त्यो गाडी रोकियो । मुग्लिङसम्म हामी उभिएर जान तयार भएर गाडी चढ्यौँ ।