बिहानीको समय, हिलाम्मे सडक, चौकको एक छेउमा टिमुरे यातायात प्रा.लि.को बोर्ड, मुनिपट्टि पिठ्युँमा झोला बोकेका मानिसहरूको भीड यो दृश्य माछापोखरीको थियो । हामी पनि त्यही भीडमा मिसिनु थियो किनकि यहीबाट गोसाईंकुण्ड यात्रा सुरु हुँदै थियो। प्रति व्यक्ति ७५० रुपैयाँको दरले धुन्चेसम्मको बस टिकट लियौँ । छेउमा रहेको मोटेलमा चिया नास्ता लियौँ । तर मोटेलको खानेकुरा खानुको पीडा आलु चाहिँ बिग्रिएको रहेछ । मोटेल सञ्चालकलाई खानेकुराको गुणस्तरमा ध्यान दिन सचेत गरायौँ ।
बसको चालक र सहचालकले यात्रा सुरु गर्ने इसारा गरे पछि हामी बसमा चढ्यौँ । बिस्तारै काठमाडौँ खाल्डोबाट थानकोट नाका हुँदै बाहिर निस्कियौँ । नौबिसेमा खाजा खानको लागि बस रोकियो तर हामी यात्राका सबै साथीहरू मोटेलमा हुने खानेकुराको गुणस्तरसँग तर्सिन्थे । मोटेलमा काम गर्ने एक जना दाइले हातमा ट्याटु भर्नु भएको रहेछ । दाइसँग ट्याटुको प्रसङ्ग कोट्यायौँ । दाइले अलिकति नोस्टाल्जिक हुँदै जवानीको कथा सुनाउन थाल्नु भयो । उनको कहानी सुन्दा सुन्दै बसले हर्न बजाएर जाने सङ्केत गरे पछि फेरि भेटौँला भन्दै दाइसँग छुट्टियौँ ।
गल्छीबाट बस त्रिशूलीतिर मोडियो । झ्यालबाट छिरेको घामको प्रकाशले हामीलाई पोलिरहेको थियो । बट्टार नुवाकोटको सानो सहर रहेछ । त्रिशूली पुगेर बस रोकियो । खाना खायौँ । बेत्रावती पुल तरेपछि रसुवा जिल्लाको इलाकामा प्रवेश गर्यौँ । लामटाङ राष्ट्रिय निकुञ्जले राखेको साइन बोर्डहरू देख्दा हामीलाई गन्तव्य नजिकिँदै गएको भान भयो । बसले उचाइ चढ्दै थियो । चिसोको अनुभव बिस्तारै बढ्दै गइरहेको थियो । कालिकास्थान पुगेर बसले केही क्षण आराम लियो । हामी पनि केही बेर सुस्तायौँ । त्यस ठाउँलाई घुम्ती बजार पनि भनिँदो रहेछ ।
कालिकास्थान माथिको डाँडामा साँघुरो बाटोको कारण बस र ट्रक ठोकिएर बाटो अवरुद्ध भएको रहेछ । उनीहरू एक आपसलाई दोषारोपण गरिरहेका थिएँ । विवाद व्यवस्थापन गरी बाटो खुला गर्न प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएपछि दुवै पक्ष बिच कुराकानी भएर ट्रक र बस दुबैलाई किनारा लगाउने काम भयो । सडक अवरोध हट्यो । रोकिएका सवारीहरू आ-आफ्नो गन्तव्य तर्फ हिँडे ।
यसै बिचमा एक जना भाग्यले बाँचेका पदम प्रसाद खत्री नाम गरेका सवारी चालकसँग भेट भयो । जसले सवारी चलाइरहँदा सडक माथिबाट ढुङ्गा खसेर सवारी चालकको सिटदेखि पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । गाडीबाट पेट्रोल चुहिरहेको थियो । उनी भने सकुशल थिएँ । उनको गाडीको अवस्था देखेर सबै जनाको मुटु चिसो भयो । उनलाई नयाँ जीवनको सहानुभूति दिँदै हामी भने यात्रालाई सुचारु गर्यौँ ।
गुम्बा डाँडा पुग्दा भारी वर्षा भइरहेको थियो । बाक्लो हुस्सुको कारण हामीले वरिपरिको कुनै पनि दृश्य अवलोकन गर्न सक्दैन थियौँ । हामीलाई बाटो निकै साँघुरो र जोखिमपूर्ण लाग्यो । अन्ततः हामी चेकिङ पोस्टमा पुग्यौँ । हामीले बोकेका झोलाहरू सुरक्षाकर्मीहरूलाई देखायौँ । गोसाईंकुण्ड जानको लागि नेपाली नागरिकको हकमा प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने रहेछ । प्रवेश अनुमति पत्र हामी पुनः बसमा चढ्यौँ । केही क्षणमा रसुवाको सदरमुकाम धुन्चेमा हामी ओर्लियौँ ।
बर्सात रोकिने कुनै सङ्केत थिएन । शरीरले भने थप शक्ति मागिरहेको थियो । चाउमिन र मम पाइँदो रहेछ । त्यही खाइयो । अब भने रेनकोट, प्लास्टिक र छाताको जोहो गरेर पैदल यात्रा प्रारम्भ गर्यौँ । यात्रा प्रारम्भ हुनासाथ लौरो किनिदिनुहोस् भनेर केटाकेटीहरूले हैरानी लगाए । फर्कँदा उनीहरूले खानेकुरा माग्दै थिएँ । हामी बालबालिकालाई सही शिक्षा दिन कहाँ चुक्दैछौँ भन्ने मनमा अनेकौँ तर्कनाहरू खेले । यात्रामा उचाइको निकै महत्त्व हुने रहेछ । हामी १९६० मिटर उचाइमा रहेको घट्टे खोलाबाट अगाडि बढ्यौँ । हामी उकालो चढिरहेका थियौँ । गोसाईँकुण्डबाट फर्केका एक महिलाले गोसाईंकुण्ड पुग्न अत्यन्त कठिन छ भनेर हामी सबैलाई हतोत्साहित बनाउन प्रयत्न गरे । तर हामी मानिसहरू थरिथरिका हुन्छन् भन्ने सोचेर रत्तीभर डगमगाएनौँ । २३०० मिटरको उचाइमा पुगे पछि खेन्दी पुगिँदो रहेछ ।
धुन्चेका एक जना दाइले खेन्दीको सिर्जना होटेलमा बस्न सिफारिस गरेका थिए । तर हामी खेन्दी पुग्दा साँझ परिसकेको थिएन । तसर्थ हामीले अगाडि बढ्ने निश्चय गर्यौँ । पदयात्राको समय सुरु हुन लागेकाले राष्ट्रिय निकुञ्जले हरेक वर्ष बाटोमा अस्थायी टहरा/छाप्रो निर्माण अनुमतिको लागि सूचना प्रकाशित गर्ने रहेछ । बिच बाटोमा बनेका र बन्दै गरेका अस्थायी टहराहरू भेटिन्थे । जसलाई स्थानीय भाषामा थर्पु भनिँदो रहेछ । हिमालय स्कुलले थर्पुको क्रम सङ्ख्या टाँस्नको लागि फ्लेक्स प्रिन्ट प्रायोजन गरेको रहेछ । बाटोमा फोहोर फाल्नको लागि खाल्डोहरू बनाइएको रहेछ ।
हाम्रो पदयात्रा अगाडि बढ्दै थियो । शरीर बिस्तारै शिथिल हुँदै थियो । हामी सबै जना यो यात्रामा नौलो थियौ । २६५० मिटरको उचाइमा रहेको देउरालीमा पहिलो दिनको यात्रा बिसाउने निचोडमा पुगेका थियौँ । बाक्लो हुस्सुका कारण आफू अगाडि र पछाडिका साथी बाहेक अरू केही देख्न सकिँदैन थियो । दिन ढल्दै गोधुली भयो । तर देउरालीको दर्शन गर्ने हाम्रो अभिलाषा बाँकी नै थियो । लाग्दै थियो देउराली नजिकै होओस् । तर हाम्रो इच्छाले भूगोल फेरिने वाला त थिएन । पदयात्राका सहकर्मीहरूलाई हिँड्न निकै गाह्रो भइरहेको थियो । जङ्गल कहाँ गएर टुङ्गिन्छ भन्ने कुनै सङ्केत थिएन । कछुवाको तालमा हिँड्दै जाँदा केही उज्यालो प्रकाश आएको देख्यौ। हामीलाई लाग्यो यही नै देउराली हो । त्यो उज्यालो प्रकाशले हाम्रो पदचापलाई केही प्रेरणा अवश्य दियो । हामी गोडाहरूलाई चलाउने अन्तिम पटक प्रयत्न गर्दै थियो । घना जङ्गलबाट लामो सुस्केरा हाल्दै बाहिर त आयौ तर उकालो अझ बाँकी रहेछ । जति थकित भए पनि हामीसँग अगाडि बढ्नुको विकल्प थिएन। केही उकालो हिँडेपछि थर्पु भेटियो । अलि माथि गयौँ । अर्को थर्पु भेटियो र तेर्सो बाटो आयो । पाँच मिनेट हिँडेपछि भने हाम्रो त्यस दिनको गन्तव्य देउराली आइपुगियो ।
काठमाडौँबाट जानु भएका दुई जना दाइहरू पनि त्यही होटेलमा बस्नु भएको रहेछ । उहाँहरूसँग पछिसम्म यात्रामा जोडिँदै छुटिँदै रह्यौँ । गोडाहरू केही दुखेको थियो । धुवाँ धुलो रहित प्राकृतिक वातावरणले हामीलाई अद्भुत आनन्द दिइरहेको थियो । इन्टरनेट सुविधा पनि थियो । हामीलाई जोडिन मन लागेन । अगेना वरिपरि बसेर आगो ताप्नुको मज्जा नै बेग्लै हुने रहेछ । थकित भएकाले होला हामी चाँडै सुस्तायौँ ।
भोलिपल्ट दोस्रो दिनको यात्रा प्रारम्भ भयो । डिम्सासम्मको उकालो निकै कठिन लाग्यो । तर यात्राको पहिलो प्रहर भएकाले त्यति धेरै सकस भएन। चन्दनबारीमा पुगेर चाउचाउको सुप लिँदा आनन्द आयो । अविरल वर्षा र बाक्लो हुस्सुको बाबजुद हाम्रो यात्रा रोकिएन । ३९०० मिटरको उचाइमा रहेको लौरी विनायकमा खाना खाने निधो गरेका थियौ । तसर्थ ३५०० मिटरको उचाइमा रहेको छोलाङपाटीलाई छाडेर उकालो लाग्यौँ । तर हामीलाई उकालो चढ्न सकस हुन थालिसकेको थियो । साथमा बोकेका चाउचाउ, जुसहरू खाँदै निकै कठिनाइका बिच लौरी विनायक पुग्यौँ । त्यहाँ हामीले अगेनाको तातोमा बसेर खाना खायौँ । त्यस दिनको स्वादिष्ट खानाले हाम्रो दिनभरको थकानलाई मेटायो ।
लौरी विनायक देखि बुद्ध मन्दिरसम्मको उकालो भने यात्राभरकै सबैभन्दा कठिन खण्ड रहेछ । ४००० मिटर भन्दा बढी उचाइ भएको क्षेत्र भएकाले छिटो हिँड्न सकिँदैन थियो । सहकर्मीहरूलाई छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने समस्याहरू भइरहेको थियो । वर्षा र हुस्सुले उत्तिकै चुनौती थपिरहेको थियो । गोसाईंकुण्ड पुग्ने उत्कण्ठाले बुद्ध मन्दिरमा साँझ पर्नु अघि पुर्यायो । अब भने बाटो उकालो बाटो समाप्त भएको थियो । आधा घण्टा जति हिँडे पछि पानी पर्न रोकियो । हामीले लगाएका रेनकोट फुकाल्यौ । छातालाई झोलामा हाल्यौँ । दुई चार वटा तस्बिरहरू कैद गर्यौँ ।
गोसाईंकुण्ड पुग्नु अघि गणेश मन्दिर पुग्ने उकालो रहेछ । छोटो तर सबैलाई कठिन लाग्ने उकालो रहेछ । मन्दिरबाट ओरालो झर्दै गोसाईंकुण्ड नजिकै रहेको होटेल लेक साइडमा साथमा बोकेका झोलाहरूलाई बिसायौँ । साँझ पर्न लागि सकेको थियो । तथापि हामी दौडँदै कुण्डलाई क्यामेरामा कैद गर्ने प्रयत्न गर्यौँ । अँध्यारो हुन लागे पछि भोलि बिहान गोसाईंकुण्ड पानीलाई नजिकबाट स्पर्श गर्ने निधो गरी होटेलमा फर्कियौँ ।
हामी बसेको होटेलको अरू व्यवस्थापन राम्रै थियो । तर सफा खानेकुरा नहुँदा भने बेलुकीको खानाको अनुभव भने त्यति सुखद रहेन । ४४०० मिटरको उचाइमा स्वभावैले अक्सिजनको कमी हुने गर्छ । त्यसको प्रभाव हामी सबैमा राती सुत्दा थोर धेर देखियो । जब बिहानीले पर्दा उघार्यो, ओछ्यानबाट पर्दा उघारेर कुण्डतिर हेर्यौँ । बादलको घुम्टो गोसाईंकुण्ड छोप्न तयार थियो । हामी हतार हतार कुण्डतर्फ लाग्यौँ । आ-आफ्नो धार्मिक आस्था र रहर अनुसार कुण्डको दर्शन गर्ने कर्म सम्पन्न भयो ।
हामी भने गोसाईंकुण्ड परिक्रमा गर्न लाग्यो । प्रकृतिको सुन्दरतामा रमाइरह्यो । तर अन्य यात्रुहरू भने परिक्रमा नगरी फर्कँदा रहेछन् । आँखाले देखेका सबै दृश्यमा जति प्रयास गरे पनि क्यामेराको लेन्सभित्र कैद गर्न सकिएन । घण्टौँ समय बिताउँदा पनि त्यो बसाइँ अपुरो नै लागिरह्यो । समयले हामीलाई फर्क भनिरहेको थियो । अझ बसिरहूँ भन्ने मनका केही टुक्राहरूलाई गोसाईंकुण्डमा नै छाडेर हामी बिदा भयौँ ।
(सहयात्राका पात्रहरू: सन्जय बानियाँ, एस्प्रिना श्रेष्ठ, मनिषा राई र महिमा राई)