2021 FEBRUARY 21
अनुग्रह के हो ?
ख्रिष्टियनहरूको लागी सबै भन्दा महत्वपूर्ण विषय के हो?
ख्रिष्टियनहरूको लागी र बाइबलमा भएका विषयहरूमध्ये एकदमै महत्वपूर्ण एउटा शब्द छ, त्यो हो , अनुग्रह । त्यसो भए, अनुग्रह के हो ? यसको विषयमा बुझ्न धेरै महत्वपूर्ण छ।अनुग्रह भन्ने शब्द सामान्य नेपाली भाषामा भने केही मात्रामा मात्रै प्रयोग भएको छ। नेपाली बृहत् शब्दकोशमा लेखिए अनुसार अनुग्रह चाहिँ ठूलाबडाले साना व्यक्तिउपर प्रसन्न भई देखाउने दया, कृपा वा निगाह र ठूलाबडाले निगाह वा कृपा राखी साना व्यक्तिहरूलाई गर्ने उपकार वा भलाइ भन्ने बुझिन्छ। त्यसलाई सजिलो तरिकाबाट grace mark जसलाई नेपालीमा अनुग्रहाङ्क भनेर बुझ्न सकिन्छ। जब हामी स्कुल पढ्दैथियौं हामीलाई गणित विषय एकदमै गाह्रो लाग्थ्यो। पास हुनै गाह्रो हुन्थ्यो। क्लास टेस्टमा त कती साथीहरूको १० मा २,३ अँक मात्र आउथ्यो। यस्तो बेला हाम्रा सरहरूले कतिपटक यदि थोरै अङ्क थपेर कोही पास हुन्छ भने थोरै अङ्क थपेर पास गराउनुहुन्थ्यो। वास्तवमा लेखअनुसार त फेल हुनुपर्ने हो। तरै पनि शिक्षकहरुले माया गरी पास गराउनुहुन्थ्यो।
यहाँ दुई कुरा बुझ्न सकिन्छ । पहिलो चाहीँ, ती विध्यार्थीहरू सबै फेल हुनु पर्ने । दोश्रो चाहीँ, केवल शिक्षकको इच्छा बाट मात्रै तिनीहरू पास भएका हुन् ।
तर बाइबलले बताउने अनुग्रहचाहिँ यो भन्दा अझ गहिरो छ। बाइबलले बताएको अनुग्रहलाई हामीले, अयोग्य व्यक्तिहरूमाथि परमेश्वरले देखाउनुभएको निगाह भनेर बुझ्न सकिन्छ। यसमा सबै मानिसहरू परमेश्वरको निगाह पाउनका लागि अयोग्य व्यक्तिहरू हुन्। जब मानिसहरू परमेश्वरको विरुद्धमा अनाज्ञाकारी भई लागे त्यसको फलस्वरूप उनीहरू परमेश्वरको आशिष् पाउन योग्यका भएनन्। पापको कारण सबै मानिस परमेश्वर र परमेश्वरबाट पाउने सबै आशिषदेखि बञ्चित भए। त्यतिमात्र नभई मानिसहरूको पापको कारण परमेश्वरबाट उनीहरूले दण्ड पाउने निश्चित छ। यसको मतलब सदाका लागि परमेश्वरको आशिष सबै मानिसहरूबाट गुम्नेछ। तर परमेश्वरले चाहिँ यी सबै आशिष् मानिसलाई दिन चाहनुभयो । यसको समाधानका लागि मानिसहरूले गर्न सक्ने केही छैन । परमेश्वर आफैंले केही गर्नु भए मात्र यो सम्भव थियो। मानिसको पापले मानिसमा ठूलो विपत्ती ल्याएको छ।
म तपाईलाई एउटा घटना सुनाउन चाहन्छु।
एकजना यस्ता व्यक्ति थिए। उनी परिवारका सबैभन्दा कान्छा थिए। जब उनी किशोर अवस्थामा पुगे, थुप्रै नयाँ साथीहरू बनाए। यस्तैमा पछि उनी लागु औषधको सेवन गर्ने साथीहरूको सङ्गतमा परे र त्यसै गर्न थाले। दिनदिनै नसामा डुब्दै गए। कसैलाई टेरेनन्। शरीरमा पनि यसले धेरे खराब गरिसको थियो।
जब महिना अनि वर्षहरू बित्दै गए, अचानक एकदिन सबै आफ्ना साथीहरू कता–कता पुगिसकेको र आफूचाहिँ जहीँको त्यहीँ पाए। त्यतिखेर ऊ झसङ्ग भए। जब उसले बिस्तारै यो सब बुझ्न थाले, त्यतिन्जेलसम्म धेरै ढिलो भैसकेको थियो। उनी लागु औषधको दलदलभित्र पूरै फसिसकेको थिए। अब उनी नसाको लतबाट निस्कने प्रयास गर्न थाले। पहिले सबै परिवारले जतिभन्दा पनि नमानिकन, साथीहरूको पछि लागिहिँडेको छोरा सुध्रिन त खोजे। कसरी यहाँबाट निस्कने भनी उपाय खोज्न थाले, किनभने नसामा एकचोटि परेपछि त्यहाँबाट निस्कन धेरै गाह्रो हुन्छ। यसका लागि कहिले डाक्टरहको मदत लिए त कहिले सुधार केन्द्रतिर धाए। उसलाई त गार्हो भयो नै तर पूरै परिवारले पनि सबै पिडा भोग्नुपर्यो। यसो गर्दा–गर्दै अन्तमा त्यो ब्यक्तिको मृत्यु भयो।
वास्तवमा हामी सबै यस्तै किसिमको परिस्थिति भएर जिइरहेका छौं ।
यो व्यक्ति जस्तै हामी सबै पापको नसामा डुबिरहेका छो। यो पापको लागु औषधबाट बच्न असम्भव छ। परमेश्वरद्वारा मात्र परमेश्वरसँग गुमेको सम्बन्ध र आशाहरू मानिसहरूले पुनः प्राप्त गर्न सक्छन् र पाप मुक्त भई अनन्तसम्म परमेश्वरसँग मिलापमा रहन सक्छन्। यसकारणले गर्दा येशू मानव बनी यस संसारमा आउनुभयो र पापबाट आउने मृत्यु उहाँले लिनुभयो। र पुनरुत्थान भई मृत्युमाथि विजयी हुनुभयो। साथै, मानिसलाई धार्मिकताकामा बदल्नका लागि पवित्र आत्माले हामीलाई मदत गर्नुहुन्छ। तर यी सबै पाउनका लागि उहाँले एउटै माध्यम राखिदिनुभयो, त्यो हो विश्वास। हामीले विश्वास गरेर येशू ख्रीष्टले दिनुभएको विजय र धार्मिकतालाई आफ्नो बनाउन सक्छौं। सबैलाई अनन्तसम्मका लागि परमेश्वरसँग एक भई उहाँसँग भएका सबै आशिषहरूको आनन्द लिन सक्छौं। यसरी हामीलाई
उहाँका सबैथोक पहिले भन्दा पनि बढी दिनुभयो।
येशूले हामीलाई यसबाट बचाउन आफ्नो रगत दिनुभयो र हामीलाई पहिलेको भन्दा झन उत्तम जीवन दिनुभयो। र जतिले उहाँमा विश्वास गर्छन तिनीहरूलाइ उहाँले प्रशस्तको जीवन दिनुहुन्छ (युहन्ना १:१२) । र यो चाहिँ परमेश्वरको सित्तैको वरदान हो ( रोमी ३:२४ ५:१५ ११:५-६)। यो परमेश्वरको महान अनुग्रह हो ।
यसको साथै यो अनुग्रहले हामीलाई हामी हरेक दिन सबै परिस्थितीमा जिउनको लागी बलवान बनाउँछ (१को १५:१०;२को ९:८ १२:९) ।
पावल भन्ने एक ब्यक्तिले जब यो सत्य बुझे, उनी जोसिएर परमेश्वरको यो अनुग्रहको सुसमाचार सुनाउँदै हिँडे। उहाँले भन्नुहुन्छ, “ मलाई सामर्थ्य दिनुहुने ख्रीष्ट येशू हाम्रा प्रभुलाई म धन्यावाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। अगाडि मैले निन्दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ती हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो। यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा ससबैभन्दा मुख्य भएर पनि मद्वारा येशू ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्न सकूँ। युग-युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस्। आमेन ।” (१तिमोथी १:१२-१७)
पावल एक मण्डलीलाई सताउने व्यक्ति थिए। मण्डलीलाई सताउनु भनेको परमेश्वरलाई सताउनु हो जस्तै हो। यसको मतलब कुनै पनि हालतमा पावल चाहिँ मुक्ति पाउने योग्यको व्यक्ति थिएन । झन् उल्टै दण्ड पाउने र परमेश्वरबाट टाढा हुनुपर्ने मानिस थिए। तर परमेश्वरले उनलाई उध्दार र मुक्ति दिनुभयो साथमा सबै आशिषहरूको भागिदार बनाउनुभयो। त्यतिमात्र नभई उहाँको सेवा गर्ने योग्यको ठान्नुभयो।
यो हाम्रो लागि परमेश्वरले गर्नुभएको अनुग्रह हो कि हामीले परमेश्वरबाट मुक्ति पायौं अनन्त जीवन पायौं र सबै आशिषहरू पायौं। त्यसको साथमा यस संसारमा हुँदा पनि उहाँले हामीलाई परमेश्वरको सेवा गर्ने जिम्मेवारी दिनुभएको छ।
अनुग्रहले परमेश्वरविनाको जीवनबाट बचाउँछ। अझ बढि यसले हामीलाई परमेश्वरसँगको जीवनका लागि बलवान बनाउँछ । रिचार्ड फस्टर
Grace saves us from life without God? Even more it empowers us for life with God. Richard Foster
जब तपाईले यो अचम्मको अनुग्रहलाई पाउनुहुनेछ, तपाईंको जीवन परिवर्तन हुनेछ।
यसका लागी विश्वास गर्नुहोस् र अचम्मका अनुग्रहलाई प्राप्त गर्नुहोस् र आशिषित जीवन जिउनुहोस्।
यो अनुग्रहलाई बुझेर परमेश्वरसँगको अनन्त र आशिषित जीवन बाँच्नुहोस ।
मङ्गलबहादुर तामाङ BA, MTh, PhD(std)
The Top blog posts on Gospel
What is Grace? अनुग्रह के हो ?ख्रिष्टियनहरूको लागी र बाइबलमा भएका विषयहरूमध्ये एकदमै महत्वपूर्ण एउटा शब्द छ, त्यो हो , अनुग्रह । त्यसो भए, अनुग्रह के हो ?
What does it mean to be born again ? हैन, यो नयाँ जीवन भनेको के आमाको कोखबाट फेरी जन्मिनु भनेको हो? के यसको मतलब अर्को जुनी लिनु भनेको हो?