श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय
Shree Rastriya Ramaniya Adarsha Secondary School
शिवसताक्षी नगरपालिका वार्ड नं. ११, दुधे (झापा)
Shivasatakshi Municipality Ward no:- 11, Dudhe (Jhapa)
Shree Rastriya Ramaniya Adarsha Secondary School
शिवसताक्षी नगरपालिका वार्ड नं. ११, दुधे (झापा)
Shivasatakshi Municipality Ward no:- 11, Dudhe (Jhapa)
विद्यालयको परिचय (Introduction):
श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय काेशी प्रदेश अन्तर्गत झापा जिल्लाको मध्य उत्तर भागको सुन्दरनगरी हाल शिवसताक्षी नगरपालीका ११ पूर्व पश्चिम राजमार्गमा जोडिएको तथा पवित्र कनकाई नदीको लगभग ५ कि.मी. पश्चिम दूधे बजारको मनोरम वातावरणमा फैलिएको छ । यस क्षेत्रको मानव वस्तिको सुरुवात धेरै अगाडि भएतापनि विपन्न, अशिक्षा र पछौटेपनले यस क्षेत्रका वासिन्दा आक्रान्त थिए । जङ्गलको घाँस दाउरा, ज्याला मजदुरी, वैदेशिक रोजगार र खेती किसानी गर्दै परम्परागत जीवन निर्वाह गरिरहेका यस भेगका जनतालाई शिक्षाको ज्योती मार्फत सभ्य सु–संकृत र विराट उद्देश्य लिई तत्कालीन समयका सचेत स्थानीय सामाजिक अगुवा शिक्षाप्रेमी अभिभावकहरुको विशिष्ट योगदानबाट वि.सं. २०२६ साल माघ १७ गते तत्कालीन शिवगञ्ज गाउँ पञ्चायत वडा नं.– ७ कुकुरभुक्का (डिपुडाँडा) तत्कालीन सतासीधाम गा.वि.सं. वडा नं.– ६ हालको शिवसताक्षी न.पा. वडा नं. ११ मा भएको होे । त्यस अवस्थामा भारतको मणिपुरबाट वि.ए. सम्मको अध्ययन पूरा गरी आउनुभएका मोतीबहादुर चापागाँई (प्र.अ.) र भारतीय सेनामा कार्यरत भई आउनुभएका शिवगञ्ज गाउँ पञ्चायत वडा नं.– ७ निवासी श्री चन्द्रप्रसाद योङ्या (वि.व्य.स. अध्यक्ष) र श्री धनकुमार राई (वि.व्य.स. सचिव) समेतको सक्रियतामा तत्कालीन श्री नेपाल राष्ट्रिय रमणीय आदर्श हाईस्कुलको नाममा विधिपूर्वक नामकरण भई सञ्चालन हुँदै आएको हो ।
यसरी माध्यमिक तह सञ्चालन हुँदै आएको यस विद्यालयको दुई पटकसम्म एस.एल.सी. परीक्षामा परीक्षार्थी सामेल गराई सकेपछि राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ ले यसलाई नि. मा. तहमा घटुवा गर्यो । जसअनुसार वि.सं. २०३० देखि वि.सं. २०३७ सम्म यो विद्यालय कक्षा ४ देखि ७ सम्म सञ्चालन गरी नि.मा. तहको विद्यालय हुन पुग्यो ।
विद्यालयले उक्त विभिन्न आरोह अवरोह पार गर्दै गरेको अवस्थामा आफ्नो जग्गा र भवनको समेत अभाव झेलिरहेको थियो । त्यस अवस्थामा वि.सं. २०२८ सालमा व्यवस्थापन समिति, शिक्षक, अभिभावक एवम् सामाजिक व्यक्ति हरुको सक्रिय सहयोगमा विद्यालयको नाममा तत्कालीन शिवगञ्ज गाउँ पञ्चायत वडा नं.– ७ हाल शिवसताक्षी न.पा. ११ निवासी शिक्षाप्रेमी तथा समाजसेवी श्री तिलबहादुर कडरियाले पूर्व–पश्चिम राजमार्गमा जोडिएको ०–६–० (६ कट्ठा) जग्गा विद्यालयलाई निःशुल्क रुपमा जग्गा प्रदान गरिदिनु भएपश्चात उक्त जग्गामा ५ कोठे भवन निर्माण गरी कक्षा सञ्चालन हुँदै आएको हो । हाल उक्त भवन जीर्ण अवस्थामा छदैँछ ।
क्रमशः सामाजिक चेतनामा जागृति आए सँगसंगै नि. मा. तहमा झारिएको यस विद्यालयलाई तत्कालीन वि. व्य. स. का अध्यक्ष श्री शिवकुमार योङ्या लगायतका शिक्षाप्रेमी, समाजसेवी व्यक्तिहरुको विशेष सक्रियतामा यस विद्यालयलाई मा. वि. बनाउन पहल सुरु गरिएको थियो । जसको परिणाम स्वरूप वि.सं. २०३७ देखि कक्षा ८ प्रारम्भ हुन थाल्यो, भने वि.सं. २०४० माघ १७ गतेका दिन तत्कालीन गृहमन्त्री पद्मसुन्दर लावतीद्वारा यस विद्यालयमा मा. वि. तहको उद्घाटन कार्य सम्पन्न भए पश्चात् हजारौं विद्यार्थीले यस विद्यालयबाट मा. वि. तहसम्मको शिक्षा आर्जन गर्ने अवसर पाए÷पाइरहेका छन् ।
यस विद्यालयले खास गरी लामो समयसम्म भवनको समस्या झेल्नुपरेको थियो । विद्यालयसँगै जोडिएको महेन्द्र राजमार्ग निर्माणको समयमा निर्मित भवनहरू विद्यालयले प्राप्त गरे पनि ती भवन खासै व्यवस्थित नभएका र भूकम्पका ब्लकहरू पनि तराईको हावापानीका आधारमा खासै उपयोगी नभएको हुँदा लामो समयसम्म नै यस विद्यालयले भवनको अभाव झेल्नु परेको देखिन्छ । वि.सं. २०६१ मा विद्यालय प्रशासनमा परिवर्तन भए पश्चात् भने विद्यालयमा भवन निर्माणको क्षेत्रमा ठूलो क्रान्ति भएको देखिन्छ । तत्कालीन अवस्थामा विद्यालयका प्रद्यानाध्यापक श्री उमानाथ दाहालको कार्यकालमा वि. व्य. स. समेतको अगुवाइमा आवश्यक स्रोतहरु जुटाएर पक्की भवन निर्माणको अभियानलाई द्रुत गतिमा अगाडि बढाई ३ ओटा पक्की भवनमा करिब ५०० वर्गफिटका १३ ओटा कोठा निर्माण गर्ने काम पूरा भएको थियो ।
शैक्षिक विकासकै क्रममा खास गरेर स्थानीय छात्रछात्राहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले यसै विद्यालयको भवनमा वि.सं. २०५५ देखि श्री सतासीधाम उच्च मा.वि. सञ्चालन हुँदै आएकोमा वि.सं. २०६० देखि उक्त उच्च मा.वि. श्री राष्ट्रिय रमणीय आदर्श मा. वि. मा एकीकरण भई श्री राष्ट्रिय रमणीय आदर्श मा.वि. को रूपमा हालसम्म सञ्चालित छ । साथै यो विद्यालय वि.सं. २०४२ सालदेखि स्रोतकेन्द्र विद्यालयको रूपमा रहेको देखिन्छ ।
प्रधानाध्यापक श्री कालिप्रसाद रिजालको नेतृत्वमा विद्यालयमा अंग्रेजी माध्यमको सुरुवात गरिएपछि वृद्धि हुन गएको विद्यार्थीको संख्या समेतको आधारमा विद्यार्थीहरुको लागि आवश्यक भवन थप्नुपर्ने र भएका भवनहरु र कोठाहरु मर्मत संभार गर्नुपर्ने अनिवार्य आवश्यकता पर्न गई प्रद्यानाध्यापक श्री कालीप्रसाद रिजालको विशेष कुटनितीक पहल र सक्रियतामा शिक्षा विभागको अनुदान रु. १६ लाख र विद्यालयको आन्तरिक श्रोतबाट रु. ५ लाख गरी जम्मा रु. २१ लाखको लगानीमा आर्थीक वर्ष २०७३/७४ सालमा पूर्वतर्फ उत्तरदक्षिण फैलिएको भवनको दोस्रो तलामा २ कोठे भवन थप गरियो । यसैक्रममा विद्यालयको प्राङ्गणको पूर्वपश्चिम फैलिएको दोस्रो तल्लामा वाल तथा भुई प्लस्टर तथा झ्याल तथा ढोका निर्माण कार्य रु. १ लाख ५० हजार को लगानीमा कोठाहरुमा विद्यार्थीहरुलाई राखी पठनपाठन गर्न योग्य बनाइयो । विद्यालयमा अध्ययनरत छात्रछात्राहरुका लागि शौचालयको आवश्यकता परिपूर्तिका लागि शौचालयको मर्मत संभार र ढलाई तथा वरन्डामा रेलिङ, पुरानो गोदाम घर मर्मत, जिल्ला विकास समन्वय इकाई झापाको अनुदान सहयोगमा ६ लाख र ३ लाख विद्यालयको आन्तरिक श्रोत समेतको लगानीमा निर्माण तथा मर्मत गर्ने कार्य सम्पन्न भयो । विद्यालयमा दिन प्रतिदिन विद्यार्थीको चाप बढ्दै जानुको कारण शौचालयको आवश्यकता परिपूर्ति गर्न र अफिस मर्मत संभार समेतका लागि रु. ७ लाख आन्तरिक श्रोतबाट व्यहोर गरी निर्माण गर्ने कार्य सम्पन्न गरियो । यसैगरी २०७८ सालमा शिक्षा विभागको अनुदान सहयोगमा रु. १६ लाख बराबरको लगानीमा पूर्वपश्चिम भवनको तेस्रो तलाको छानामा ट्रस्टको प्रयोग गरी २ कोठे भवन सम्पन्न गरियो । यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजना अन्तर्गत यस चालु शैक्षिक सत्र २०७९ मा तेस्रोतलामा मै पक्की गारो र ट्रस्टको छाना भएको ४ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ । सोही तलामा विद्यालयको आन्तरिक श्रोतबाट सोही बमोजिमको १ कोठे भवन समेत निर्माणाधिन अवस्थामा रहेको छ ।
विश्व परिवेशमा देखापरेको विज्ञान र प्रविधियुक्त २१औँ शताब्दीका विद्यार्थीहरुलाई विश्वबजारमा विक्नसक्ने बनाउनका लागि प्रदेश सरकारबाट प्रदान गरिएको आई.सि.टी. कार्यक्रम अन्तर्गत रु. १५ लाख ५० हजार बराबरको कम्प्युटरहरु, सि.सि. क्यामराहरु तथा साउण्ड बक्सहरुको समेत व्यवस्था गर्ने कार्य भएको छ । विद्यार्थीहरुलाई अनुशासित र निगरानीमा राख्नका लागि प्राप्त अनुदानबाट अपुग हुन गई रु. १ लाख बराबरको सि.सि. क्यामरा आन्तरिक श्रोतबाट समेत थप गरियो । विज्ञान विषयको पठनपाठनको कार्य सैद्धान्तिक भन्दा व्यवहारिक रुपमा बढी प्रभावकारी हुने वास्तविकतालाई मध्यनजर गरी विभागबाट अनुदान प्राप्त रु. ६ लाख ५० हजार सम्मको सामग्री खरिद गरी विज्ञान प्रयोगशाला व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ । यसैगरी विद्यार्थीहरुको घनाबसाई र तराई क्षेत्रको तापक्रमलाई समेत मध्यनजर गरी हरेक कक्षाहरुमा शिक्षकहरुबाट रु. १ लाख र स्थानीय अभिभावकहरुको तर्फबाट रु. २ लाख संकलन गरी पङ्खा जडानको कार्य गरिनुका साथै उक्त रकमबाट रु. ५० हजार बराबरको विद्यालय फूलबारी निर्माण सम्पन्न गरिएको छ ।
स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रका साथ विद्यालयमा रहेका करिब १३०० विद्यार्थीहरुलाई पिउन योग्य स्वच्छ र शुद्ध खानेपानी व्यवस्थापनका लागि फिल्टर समेतको व्यवस्था गरी स्थानीय समाजसेवी, बुद्दिजीवी, शिक्षाप्रेमी शिवसताक्षी न.पा.– ११ निवासी श्री अग्नी प्रसाद दुलालद्धारा नगद रु. १ लाख ३ हजार, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी– ०९ द्धारा रु. ९ हजार, खुद्रा बचत तथा ऋण सहकारी संस्थाद्धारा रु. १५ हजार, र विद्यालयको आन्तरिक श्रोतसमेत गरि रु. २ लाख ५० हजार बराबरको लगानीमा पिउनेपानी व्यवस्थापन गरिएको छ ।
विद्यालयमा अध्ययनरत अब्बल विद्यार्थीहरु जसको हौसला बृद्धि गर्न र पढ्न चाहने तर आर्थिक अभावका कारण पढाइलाई अगाडि लिएर जान असमर्थ विद्यार्थीहरुको पहिचान गरी छात्रवृत्ति प्रदान गर्न चाहने विभिन्न संघ संस्था र व्यक्तिहरुको समेत विद्यालयमा आकर्षण बढिरहेको सन्दर्भमा आदर्श बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी– ०९ ले प्रदान गरेको वार्षिक छात्रवृत्ति रु. १०००० ।–, गोर्खाली हटले बालक्लवलाई ड्रेस तथा दुई जनाको लागि वार्षिक बस भाडा र हाल ११ मा अध्ययनरत एकजनाका लागि वार्षिक छात्रवृत्ति (लगभग रु. १४०००) प्रदान गरेको छ, जुन कक्षा १२ मा पनि निरन्तरता हुनेछ ।
यस विद्यालय प्रति माया र सद्भाव राख्दै विभिन्न शिक्षा प्रेमी सामाजिक व्यक्तित्वहरुको सहयोग र योगदान स्वरुप विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग तथा विद्यार्थीहरुको पे्ररणा अभिवृद्धि गर्ने हेतुले अक्षयकोष खडा गर्नुहुने शिवसताक्षी न.पा. ०९ निवासी पूर्व प्रधानाध्यापक श्री उमानाथ दाहाल तथा धर्मपत्नी उर्मिला अधिकारी दाहालले रु. १ लाख बराबरको उमा–उर्मिला अक्षयकोष स्थापना गर्नुभएको छ, भने कनकाई न.पा. निवासी गोकुल खनाल, चम्पा खनाल (सुवेदी) तथा लोकनाथ खनालले पिता स्व. जयनारायण खनाल र माता स्व. अयोध्यादेवी खनालको स्मृतिमा रु. १ लाख ११ हजार अक्षयकोष स्थापना गर्नुभएको छ । यसैगरी स्व. माया आङ्थुम्बो थेबे स्मृति अक्षयकोष स्थापनाका निमित्त रु. १,११,१११ ।– उक्त परिवारको सदस्य अशोक माबोद्धारा प्रदान गर्नुभएको छ । यस विद्यालयमा जम्मा रु. ३ लाख २२ हजार १ सय ११ रुपैया बराबरको अक्षयकोष स्थापना भएको देखिन्छ ।
यसैगरी शैक्षिक उन्नति प्रगति तथा विद्यालय संचालनार्थ अति जरुरीका भौतिक सामग्रीहरु प्रदान गरी विद्यालयलाई आवश्यक पर्ने भौतिक वस्तुहरुको अभाव खड्किन नदिनका लागि विभिन्न दाताहरुबाट सामग्रीहरु प्राप्त भएका छन् । यसका लागि चन्दादाता सञ्जिवनी पब्लिकेशन मार्फत २ थान स्टील दराज रु. २२ हजार, शिक्षक ¥याक (१६ कोठे) रु. २४ हजार गरी जम्मा रु. ४६ हजार, सिम्फोनी पब्लिकेशनबाट एकथान स्टिल दराज रु. ११ हजार, शिव भट्टराईबाट दराज १ थान रु. १२ हजार, साथै विभिन्न पब्लिकेशनहरुबाट खेलकुद सामग्रीहरु रु. १ लाख ५० हजार, ने.वि.सं. इकाई समिति शिवसताक्षीबाट बस खरिदका लागि रु. १५ हजार, मेदनी केदेमबाट सरस्वती मन्दिर निर्माणार्थ रु. ६५ हजार, देवेन्द्र खरेलबाट सरस्वती मन्दिर निर्माणार्थ रु. ५१ हजार, भू.पु. विद्यार्थी मञ्च रा.र.आ.मा.वि. बाट स्वर्णस्तम्भ निर्माणार्थ रु. १ लाख ५० हजार, त्यसैगरी पूर्व विद्यार्थी शिवसताक्षी न.पा. ११ बस्ने (हाल अमेरिकामा बसोवास गर्दै आउनुभएको) नारायण अधिकारीले छात्रवृत्तिका लागि वार्षिक रु. ३० हजार निरन्तर रुपमा पुरस्कार प्रदान गर्दै आउनु भएको छ । छात्रवृत्तिकै रुपमा शिवसताक्षी ९ बस्ने महेश घिमिरेले वार्षिक रु. ३५ हजार प्रदान गर्नुभएको छ । त्यस्तै समाजसेवी तथा शिक्षाप्रेमी कमल गाउँपालिका निवासी आनन्द दाहालले विद्यालयको सहयोग स्वरुप रु. १ लाख प्रदान गर्नुभएको छ भने शिवसताक्षी ४ निवासी लीलादेवी गेलालले १ लाख ५० हजार, शिवसताक्षी ९ लोकेश खनालले रु. १० हजार, शिवसताक्षी निवासी सूर्यमान बानियाँद्धारा रु. ११ हजार, शिवसताक्षी निवासी ख्याम भण्डारीद्धारा रु. ११ हजार तथा सिँहविर थाम्सुहाङ्गद्धारा रु. ५० हजार प्रदान गरेर शैक्षिक विकासमा सहयोग पुर्याउनु भएको छ । त्यसैगरी स्थानीयवासी शिक्षाप्रमीहरुबाट विभिन्न समयमा ६० थान तथा यस विद्यालयका शिक्षकहरु मार्फत ४० थान प्राप्त भएका पङ्खाहरुले विद्यार्थीहरुलाई गर्मीको समयमा सितलता प्रदान गरिरहेको छ । यसरी यस विद्यालयको विकासमा स्थानीय शिक्षाप्रेमीहरुको भूमिका स्मरणीय रहेको देखिन्छ ।
यस विद्यालयले विभिन्न समयमा विभिन्न आरोह, अवरोधहरु भोग्दै आजका दिनसम्म आइपुग्दा यस भेगका शिक्षाप्रमी, समाजसेवी तथा बुद्दिजीवी हरुको विशेष कुटनीतिक पहल र सक्रियतामा समयको माग तथा अभिभावकहरुको समेत मागमा वि.सं. २०७४ सालदेखि अंग्रेजी माध्यममा समेत नर्सरी देखि १२ कक्षा सम्म सफलता पूर्वक पठनपाठन कार्य भइरहेको छ ।
विद्यालयका केहि तस्बिरहरु:
Shortcut Links (Only for School)
1. IEMIS log in:
https://emis.cehrd.gov.np/#/login