यो विद्यालयको एतिहासिक पृष्ठभूमिलाई गहिरिएर हेर्ने क्रममा वि.सं. २०१६ सालमा भारतीय सोल्जरबोर्ड द्धारा सिंहदेवी-९ सोम्बारेभञ्ज्याङमा श्री कल्याणकारी प्रा.वि नामको विद्यालय गैरसरकारी स्तरमा स्थापना भएको थियो । यसको संचालन सभापति श्री कर्ण बहादुर राई, उपसभापति छविलाल लिम्बू, कोषाध्यक्ष रामचन्द्र आचार्य, सदस्यहरु विष्णु बहादुर खाण ठकुरी,नन्द लाल शाही, लाखमान राई, खड्रग बहादुर शाही, छत्र बहादुर राई, र श्री बहादुर मगरको संचालक समितिबाट दाजिर्लिङ निवासी शिक्षक वीर सिंह राईबाट शिक्षण कार्य भएको थियो । समयको परिवर्तन संगै भारतीय सोल्जर बोर्डले दिने सहयोग वि.सं. २०२१ मा कट्टा भयो र वि.सं. २०२१/२०२२ सालमा निजी श्रोतमा सञ्चालन भयो । यहाका अग्रज महानुभावहरुको पहलमा जिल्ला शिक्षा निरीक्षकको कार्यालय मोरङमा सरकारी स्तरमा विद्यालय स्थापनाको निवेदन बमोजिम बि.सं. २०२३ सालमा जिल्ला निरीक्षकको कार्यालय मोरङबाट बार्षिक अनुदान रु.११००। दिने गरी प्रा.बि.तहको दुई ओटा दरबन्दी सहित कल्याणकारी प्रा.वि.सरकारी स्तरमा स्वीकृत भयो । सरकारी विद्यालयको रुपमा वि.सं. २०२३ सालमा स्वीकृत भएको यस विद्यालयको स्थापना वि.सं. २०२३ सालमा नै भएको मानिएको छ । सोम्बारे भञ्ज्याङमा वस्ती नभएको कारण असुरक्षित महशुस गरिएको हुँदा सिंहदेवी—९ लेचाङ्गोमा सुरक्षित स्थानमा सञ्चालक समिति अध्यक्ष स्व.खड्ग बहादुर शाहीले ४—८—२ क्षेत्रफलको जग्गा निःशुल्क प्रदान गर्नु भएपछि गा.वि.स भवन नजिकै सारियो । अव सिंहदेवी ९ लेचाङगोमा औपचारीक रुपमा सरकारी स्तरमा स्वीकृत प्राप्त विद्यालय श्री कल्याणकारी प्रा.वि.संचालन हुन थाल्यो । यो ठाउँमा स्थापित गर्न यस विद्यालयको संस्थापक संयोजक स्व.विष्णु बहादुर खाण ठकुरी, संस्थापक जग्गादाता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष स्व.खड्ग बहादुर शाही ठकुरी, संस्थापक सदस्य सदस्यहरु श्री पृथ्वी राज खाण ठकुरी, पदम बहादुर सिंह ठकुरी, पूर्ण बहादुर ज्यू ठकुरी, छत्र बहादुर किराँती, छवीलाल लिम्बूको योग्दानलाई कदापी भुल्न सकीदैन।
विभिन्न कठिनाइहरुको सामना गदै जाँदा शैक्षिक सत्र २०३४/२०३५ देखि नि.मा.तह सम्म केही वर्ष निजी श्रोतमा सञ्चालन भयो । भौतिक सुविधा तथा आर्थिक अभावमा रु.१५,०००। राख्न नसकेकोले नि.मा.तह कट्टा भई प्रा.वि.तह मात्र सञ्चालन हुन थाल्यो । फेरी यहाँका स्थानीय बुद्धिजीवि शिक्षाप्रेमीहरुको पहलमा वि.स.२०३७ सालदेखि नि.मा. तह सञ्चालन भई वि.स.२०४१ सालमा तत्कालिन वि.व्य.स. अध्यक्ष श्री पृथ्वीराज खाण ठकुरीको सक्रियतामा विद्यालयबाट निवेदन माग भई शिक्षा मन्त्रालय मार्फत तत्कालिन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवमा जाहेरी हुँदा विद्यालयले राख्नु पर्ने धरौटी रकम रु.१५,०००/– पन्ध्रहजार मिनाहा भई विशेष कोटा मार्फत नि.मा.तह सञ्चालन गर्न स्वीकृत पत्र प्राप्त भई नि.मा.तह सञ्चालन भएको थियो।
समयको परिवर्तन र मागसंगै सिंहदेवी गा.वि.स. मा पनि माध्यमिक तहको विद्यालयको खाँचो महसुस भयो र तत्कालिन प्र.अ. श्री केवलराम दंगाल वि.व्य.स.अध्यक्ष तथा गा.वि.स. उपाध्यक्ष श्री पृथ्वीराज खाण ठकुरीको सकृयतामा सिंहदेवी गा.वि.स.को शिक्षातर्फको अनुदान रु. ५०,०००/( (पचासहजार) र स्थानीय शिक्षाप्रेमी, चन्दादाता अभिभावकहरुसंग रु.५००/( देखि ५००० सम्म विशेष चन्दा संकलन गरी जम्मा रु. १,२१,०००/– (एकलाख एक्काइस हजार) प्र.अ. श्री केवलराम दंगाल, वि.व्य.स. अध्यक्ष श्री पृथ्वीराजखाण ठकुरी र जि.शि.का. मोरङको लेखापाल गरी जम्मा ३ जनाको संयुक्त दस्तखतमा नेपाल बैंक लि. इटहरीमा मुद्ती खाता खोली भौचर पेश गरे पछि जि.शि.का. मोरङको सिफारिसमा क्षे.शि.नि.धनकुटाबाट नीजिस्रोतमा कक्षा कक्षा–८ सञ्चालन गर्न अनुमति प्राप्त गरी शै.स. २०५२/SLC ०५३ देखि मा.वि. तहको कक्षा ८ सञ्चालन गरी २०५५ सालमा पहिलो पटक SLC परीक्षामा सम्मिलित भएको थियो भने SLC परीक्षा २०७९ मा सम्मिलित भई २५ औं ब्याज उतारी सकेको यस विद्यालयले मा.वि. तहको कक्षा ११ र १२ वि.स. २०७८/७९ देखि सञ्चालन गरिरहेको छ।
मा.वि. तहसम्म सञ्चालन भइरहदा टाढा टाढाबाट पनि यस विद्यालयमा अध्ययन गर्न आउने भएकोले छात्रावास भवनको आवश्यकता महसुस भयो र छात्रावास भवन निमार्णका लागि सिंहदेवी ९ निवासी श्री टंकमाया ठकुरी र सिंहदेवी ७ निवासी श्री अमर बहादुर शाहीले १ रोपनी जग्गा निःशुल्क प्रदान गरेपछि ४ कोठे छात्रावास भवन निमार्ण सम्पन्न भएको छ भने सौचालय निमार्णको लागि सिंहदेवी ७ निवासी श्री इन्द् बहादुर शाही र सिंहदेवी ९ निवासी श्री राजकुमार मल्लले निःशुल्क जग्गा प्रदान गरेपछि छात्रावास भवनमा पनि सौचालय निमार्ण भएको छ ।
यसरी प्राथमिक तहदेखि नि.मा. हुँदै माध्यमिक तहसम्म विद्यालय सञ्चालन गर्न र भौतिक पूर्वाधार तयार गर्नमा सिंहदेवी वासी शिक्षाप्रेमीहरु,बुद्धिजीवीहरु, जनप्रतिनिधिहरु, संस्थापकहरु, जग्गादाताहरु, चन्दादाताहरु, निवर्तमान तथा भु.पू. प्र.अ.हरु वि.व्य.स. पदाधिकारीहरु, वडा कार्यलय,गाउँपालिका/शिक्षा विकास तथा समन्वय एकाई, व्रिटिश गोर्खा वेल्फेयर सेन्टर धरान न्ध्त्ल् र अन्य संघसस्ंथाहरुको महत्वपूर्ण योगदानलाई समेत भुल्न सकिदैन । अन्तमा यस विद्यालयको उत्तरोत्तर प्रगतिमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ।
सम्पूर्ण विद्यालय परिवार
कल्याणकारी मा.वि.
सिंहदेवी-२, मोरङ, नेपाल