आएको विनाशकारी बाढीप्रति SNLCC द्वारा गहिरो दुःख तथा समवेदना व्यक्त; १०औँ वार्षिकोत्सव कार्यक्रम रद्द गरिएको छ |
नेपालमा आएको विनाशकारी बाढीप्रति SNLCC द्वारा गहिरो दुःख तथा समवेदना व्यक्त; १०औँ वार्षिकोत्सव कार्यक्रम रद्द गरिएको छ |
अगस्ट २८, २०२६
सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (SNLCC) ले नेपालको रसुवा, धादिङ, नुवाकोट लगायत विभिन्न क्षेत्रमा हाल भएको विनाशकारी बाढी तथा यससँग सम्वन्धित विपतका कारण प्रभावित सम्पूर्ण व्यक्ति, परिवार तथा समुदायप्रति गहिरो दुःख प्रकट गर्दछ |
यस विपतका कारण अमूल्य मानवीय जीवन गुमेको, धेरै जना घाइते भएको, परिवार तथा समुदाय विस्थापित हुनुपरेको र घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको खबरले हामी अत्यन्त मर्माहित भएका छौँ | आफ्ना प्रियजन गुमाउनुभएका शोकसन्तप्त परिवारहरूप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गर्दै, अनिश्चितता, पीडा, क्षति र कठिन परिस्थितिको सामना गरिरहनुभएका सम्पूर्ण प्रभावित परिवार तथा समुदायप्रति हाम्रो प्रार्थना र ऐक्यवद्धता रहेको छ |
यस कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अथक प्रयास गरिरहनुभएका नेपाल सरकार, सुरक्षाकर्मी, उद्धार तथा आकस्मिक सेवाका कर्मचारी, राजनीतिक दलहरू, स्वयंसेवकहरू, मानवीय तथा परोपकारी संस्थाहरू, सामुदायिक समूहहरू तथा सम्पूर्ण सहयोगी व्यक्ति–व्यक्तित्वहरू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ | यस विपतको समयमा उहाँहरूले देखाउनुभएको साहस, करुणा र समर्पण अत्यन्त प्रशंसनीय छ |
नेपालमा उत्पन्न यस विनाशकारी परिस्थितिलाई ध्यानमा राख्दै तथा बाढीबाट प्रभावित पीडित, शोकसन्तप्त परिवार र समुदायप्रति सम्मान प्रकट गर्दै सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले आयोजना गर्न लागेको निर्धारित १०औँ वार्षिकोत्सव कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ |
SNLCC को विगत दश वर्षको यात्रा र यस अवधिमा हामीलाई साथ, सहयोग र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूका लागि यो वार्षिकोत्सव अत्यन्त महत्वपूर्ण अवसर हो | तथापि, हाम्रा आफ्नै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू गहिरो पीडा, क्षति र शोकमा रहेका यस दुःखद् समयमा उत्सव मनाउनु उचित नहुने हाम्रो ठहर छ |
SNLCC को १०औँ वार्षिकोत्सव केवल एउटा संस्थागत उपलब्धिको उत्सव मात्र नभई एकता, भाषा, संस्कृति, पहिचान र सामुदायिक भावनाले नेपालीहरूलाई जोड्ने शक्तिको प्रतीक पनि हो | यस समयमा ती मूल्य र भावनालाई सम्मान गर्ने सबैभन्दा अर्थपूर्ण उपाय भनेको विपतबाट प्रभावित नेपाली जनता तथा समुदायसँग ऐक्यवद्धता जनाउनु हो भन्ने हाम्रो विश्वास छ |
हामी हाम्रा सदस्यहरू, समर्थकहरू, शुभेच्छुकहरू तथा सम्पूर्ण नेपाली–अमेरिकी समुदायलाई नेपालका बाढी प्रभावित समुदायलाई सहयोग पुर्याइरहेका विश्वसनीय तथा वैध राहत एवं मानवीय प्रयासहरूमा आफ्नो क्षमताअनुसार सहयोग र साथ प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ |
सरल नेपाली भाषा तथा संस्कृति केन्द्र नेपाली भाषा, संस्कृति, सम्पदा तथा सामुदायिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्दै वर्तमान तथा भावी पुस्तासम्म यसको हस्तान्तरण गर्ने आफ्नो मूल उद्देश्यप्रति निरन्तर प्रतिवद्ध रहनेछ | यस कठीन घडीमा हामी नेपाल र विश्वभरका नेपाली समुदायसँग एकतावद्ध भएर उभिइरहनेछौँ |
बाढी तथा विपतमा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, प्रभावित परिवार तथा समुदायलाई यस दुःखद् परिस्थितिको सामना गर्न शक्ति, साहस, सान्त्वना र आशा प्राप्त होस् भन्ने हार्दिक प्रार्थना गर्दछौँ |
भवदीय,
पद्मा लिंखा मगर,
अध्यक्ष
Help Families Affected by Floods in Nepal