राजेन्द्र भण्डारी

विचलन-माथि दुइ शब्द
     विचलन 1 र 2 पढ़्ने मौका पाएँ। केही नयॉं काम गर्ने,दृष्टिपरिवर्तन गर्ने तपाईँहरूको हुटहुटी स्वागत्य छ। पूरापूरी पढ़िसक्दा एउटा उत्साहवर्द्धक छाप मनमा परेको छ।विचलनशब्दबाट ध्वनित हुने नकारबोध मात्र अलि खट्किएझैं लाग्छ। तर त्यो खट्काइ पनि मेरो व्यक्तिगत मात्र हुनसक्छ।
    विचलन अभीष्ट 1-मा अभिव्यक्त अभीष्टहरू युगानुकूल छन्। ठीक समयमा ठीक सोँचाइ हुनपुगेको छ। एकालापी अनुत्तरदायी लेखनलाई रचनात्मक प्रतिवाद गर्ने आशय रहेछ। निरर्थक विलापतिर ढल्किएको भारतीय नेपाली कवितामा यस्तो प्रतिवाद अत्यावश्यक नै थियो,छ। यो यताको हाम्रो रोग हो। नेपालीय नेपाली कवितामा पाइने नारा पनि रोगै हो, उताको रोग। एकालापी र भावुक कविताका पनि सन्दर्भ र सार्थकता आफ्ना ठाउँमा सुहाउँदिलै हुनसक्छन्। मराठीका वसन्त दहाकेका जस्ता, अङ्ग्रेजीकी सिल्भिया प्लाथका जस्ता, हिन्दीका नरेश मेहता, मुक्तिबोध र पञ्जाबीका हरभजनसिंहका जस्ता आत्मस्वीकारजन्य तथा सार्थक आत्ममन्थनजन्य कविताका उच्चतामा पुगी लेख्नसके भावुकताले पनि एउटा वरेण्यता पाउँनेथियो। हामीमा त्यसो हुनसकेन।  अहिलेलाई तपाईँहरूको अड़ान सान्दर्भिक छ। भन्नुभएको छ, कला र  जीवन जति च्याते पनि असम्पृक्त
रहन्नन्। एकाकार हुन्।
यो एउटा चुड़ान्त र साहसिक भनाइ लाग्यो। कला कलाको लागि,कला जीवनको लागि-जस्ता निरर्थक कलहलाई तपाईँहरूले छिनाइदिनुभएको छ। आखिर मनुष्यजीवनकै लागि त हुन् कला-साहित्य।
    विचलन-मा उत्तरआधुनिकताका छापहरू पाइएका छन्। यसलाई शुभसङ्केत मान्दछु। अबको कविताले संस्कृति,जातीयता,स्थानीयता,राजनीति,मानवशास्त्र आदि कुनै ज्ञानानुशासनलाई अछुत मान्दैनत्-लेख्नुभएको छ। अछुत मानेकै थियो के ? प्रश्‍न उभिनसक्ने ठाउँ छ यहॉंनेर।
    विचलन-का कविताहरू उत्कृष्ट र ताजा लागे। विचलनको सिद्धान्तपक्षलाई लेखनपक्षले उछिनेको छ। कविताका आधारभूत उपकरणप्रति अन्याय गरिनुहुँदैन  लेख्नुभए तापनि कतिपय कविता लघुकथाजस्ता गाद्यिक देखिएका छन् यद्यपि कविताको सत्वरक्षाका लागि अघि आउनु निश्‍चय इमान्दार पाइला हो।विचलनले आफ्ना वाचाहरूबाट चुक्नुहुँदैन लाग्छ।सतर्कताका लागि सचेष्ट
रहनुहुनेछ नै।
    कालेबुङको सुसुप्त साहित्यिक वातावरणमा विचलन एउटा तरङ्ग हो, सार्थक चहलपहल हो। तपाईँहरू बधाईका पात्र हुनुहुन्छ।विचलनकै लागि विचलन नहोऊ स्राहित्य र सिर्जनाहरू। यसैले विचलनको आफ्नै प्रचलन बसोस् तर यो कहिल्यै अविचलन वा अपचलनतिर नमोड़ियोस्-मेरो शुभकामना।
Comments