नयॉं कविताको स्वरूप

सुधीर छेत्री
                          
एकातिर भाषा छ,
अर्कोतिर मौनता।
भाषाबाटै छिरेर म पुगुँला
मौनतासम्म।
मेरो मौनता
भाषाको प्रायश्‍चित हुनेछ।
                  महाराज कृष्ण सन्तोषी

कविता विचारले होइन, शब्दले लेखिन्छ
  -भन्छन् मलार्मे। यसैको व्यवहारिक व्याख्याले जन्माएको भनिन्छ स्वचालित लेखन। अझै  जन्माएको होला अतियथार्थवाद। हामीलाई लाग्छ, विचार र शब्द दुवै नेपाली कवितालाई चाहिँदा चिजहरू हुन् किनकि नेपाली पाठक अझैपनि कवितामा अर्थ, विचार, सार र निर्देश खोज्दछन्;  अर्थनिरपेक्षताका प्रस्तावी आयामेलीहरूको दर्शन पचासवर्ष पुरानो बन्नलाग्दा पनि। शब्दको भाव र अर्थलाई न्युनतम महत्व दिँदै ध्वनि, बुनोट, ताल र अनुप्रासहरूको माध्यमबाट अभिव्यक्ति-सम्प्रेषण गरिने अमूर्त्त कविताको सन्दर्भ हामी यताको साहित्यमा परम्परा बनेन, अब नबन्ला पनि। कविताले के भन्दैछत् -पट्टि व्याख्या तान्छन् अधिकतर समीक्षकहरू पनि। कसरी भन्दैछ- भित्रका विभावादि खोतल्न अभ्यस्त शब्दावलीका आलोचना-व्यायाम अपुग देखापर्छ।

 
स्कोल्भोस्कीको make it strange र पाउन्डको आधुनिक स्लोगन make it new  तर धेरै अभॉंगार्दे लेखनका झैं विचलन-लेखनका पनि मूलमन्त्र नै हुन्। दार्शनिक किर्केगार्दले भने- ‘boredom is a root of all evil’  एउटा व्यक्तिको उराठ्लाग्दो दार्शनिक व्याख्यालाई आनन्द लिएर सुन्नको निम्ति उनले त्यस व्यक्तिको आँखीभौंमा पसीना आएको, नाकको फेदीबाट पसीनाका थोपाहरू एक भएर बग्दै ओह्रालो झरेको अनि नाकको टुप्पोसम्म आइपुगेको रोचक दृश्य हेर्नेगर्थे। नेपाली कविताको लेखन, पठन र समीक्षणमा किर्केगार्दको यो चक्र-पद्धति (रोटेशन मेथोड) प्रयोग गर्न सकिन्छ कि !
     

हाल जन-आन्दोलनका प्रत्यक्ष बखान लेखिँदैछ। यो समयानुकूल हो। तर यसको भित्र बग्ने अनुभूतिको नदी परम्परित संवेदनाले देख्नसक्दैन। क्रान्तिको सॉंचो भावानुभूति हातबाट बालुवाजस्तो फुरूरू झरिपठाएका मिडियोकर् अभिव्यञ्जनाहरूले पाठकको तिर्खा मेट्न सक्दैन। सॉंचो साहित्य-रचनामा ऐतिहासिक तत्त्व ह्नसंज्ञान हुन्छै- जस्तो वेस्टल्याण्डमा, जस्तो क्यान्टोजमा। स्मृति, टुक्रा-टाक्री संस्मरण, ध्वनि, घटनावली, बिम्बका सिर्जनात्मक जोड़जाड़ (प्याश्टिस)-बाट विनिर्मित शृङ्खला जन्मन्छ अनि त्यसको गहिराइमा इतिहासबोधको नयॉं खोला बग्छ। साहित्यिक युगबोध पनि पलाउँछ। फुकुयामाको इतिहासको मृत्युलाई हामी ऐतिहासिक बोधको पारम्परिक अवधारणाको मृत्यु भनेर स्वीकार गर्दछौं।


हाम्रा नोस्टाल्जियाहरूका विनिर्माण हुनु आवश्यक छ। स्वजातिप्रतिको हीनताबोध र नकरात्मकता त्यागेर स्वाभिमान र गर्वानुभूतिका नयॉं आत्मबोध जागेमात्र नयॉं ढङ्गको जातीय-अध्यायको संचेतना उम्रन्छ।
हामी भारतीय गोर्खाहरूको उत्तरआधुनिक चेतना भनेको नै परिचयको खोजी हो। विशाल राष्ट्रको मूलधारादेखि दीर्घकालसम्म सीमान्तकृत अनि आफ्नो स्वत्वको स्थापनाबाट बञ्चित हाम्रो सामुदायिक मुल्यले एउटा प्रखर, टड्कारो र सग्लो उपस्थितिको शङ्खघोष गर्नपावोस्-को सिर्जनात्मक चेष्टा नै अबका कृतिहरूतिर देखापर्दैछ। काव्यिक अभिव्यक्तिमा यो
उत्तरउपनिवेशवादीजस्तो सुनिने स्वर स्पष्ट बज्दैछ। यहीँबाट पस्नसक्छ, बहुलवाद, विकेन्द्रीकरण, पुनर्निर्माण, विखण्डनजस्ता धारणाहरू लेखनभित्र। उत्तरआधुनिकता भनेकै  आखिर विडम्बनात्मक अभिवृत्ति हो।


भाषामाथि बलत् अर्थ थोप्ने काम नगरेर, भाषाभित्र लुकेको काव्यिकता खोतल्ने प्रयास नै अबको विचलन हो।  


हेरोल्ड ब्लूम मान्छन्, कविताले कुनै विषयबारे बोल्दैन, आफैबारे पनि बोल्दैन। ‘They are necessarily about other poems; a poem is a response to a poem, as a poet is a response to a poet, or a person to his parent.’ उनलाई लाग्छ, विलियम कार्लोस् विलियम्स् किट्सवादी कवि नठानिए पनि यथार्थमा कार्लोस्भित्र किट्सीय प्रवृतिलाई अङ्गीकार र चुनौती गर्ने लेखन छ। ब्लूमका प्रसिद्ध तकनीकि व्याख्या छ- ‘To live, the poet must misinterpret the father, by the crucial act of misprision, which is the re-writing of the father’

गिरी, वल्लभ, काइँला, ग्वाइन, कॉंढ़ा, गुमानसिंह चामलिङ, अविनाश श्रेष्ठ, मोहन ठकुरी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारीआदिका सिर्जनाहरूले ठूलो कालखण्डमा रचनात्मकता र युगबोधका परिच्छेदहरू राखेका छन्। नयॉं कविताले (उहॉंहरू आफैकै पनि) अघिका कविताहरूसित कसरी द्वन्द्वात्मक तादात्म्यता स्थापित गरेको छ, त्यो अध्ययन गर्नु साहित्यिक कर्त्तव्य हो प्रत्येक सर्जक र समीक्षकको।


नयॉं कवितामा आख्यानात्मकता पस्छ। विखण्डित बिम्बहरू आउँछन्। ऐकिक विश्‍वदृष्टिको धारणा भत्किन्छ। विविधता फक्रन्छ। शब्दहरू नयॉं अनुहारमा देखापर्छन्। पुरानै शब्दहरू पनि नयॉं प्रयोगले डामिन्छन्। माथि र तलको हाइरार्की हुँदैन। समानताको तराजु नहल्ली उभिन्छ। ह्याम्लेटको झैं to be or not to be -को समस्या हुँदैन। शुद्धताको पूर्वनिर्मित पिञ्जराबाट कविताको पङ्क्षी उम्किपठाउँछ र नयॉं वर्णशङ्कर अनुहारमा अघि उभिन्छ। कविताका मौरीहरू स्वाद, गन्ध, रूप, स्पर्श, रङ्ग, श्रवणका शाब्दिक र अवधारणात्मक बिम्बहरूमाथि टेक्दै ब्रह्मानन्द सहोदर -को रस बटुलिरहन्छ। अनि एरिस्टोटलको क्याथर्सिस (विरेचन) पनि। कविताको तथाकथित औपचारिक आभा (अँरा) च्यातिन्छ। अन्तिमत्व हुनेछैन। कविता सँधै अझै भन्नसकिने, लेख्न र थासकिनेगरी थन्काइन्छन्। त्यही बिन्दुबाट अर्का कृतिकारले थप्दैलानेछन्।


साहित्यमा धेरै क्यानन्हरू बनिए।, धेरै भत्किए। स्थिरता कसैलाई मनपरेन। अराजकता खोजे। प्रयोगशीलता पछ्याउनुपर्‍यो। इलियटले लाखेस् गरेका छन्- साँचो स्वतन्त्रता सँधै कृत्रिम परिसीमाको पृष्ठभूमिमा मात्र स्वादिलो हुन्छ।  हामी इमर्सनलाई याद गर्छौं अनि भन्छौं- किन हामी ब्रह्माण्डसितको मौलिक सम्बन्धमा आनन्द नमनाऔं।

जड़ौरी गहनाहरू मिल्काएर नाङ्गो बनौं वा सिर्जनाका नव्य-अलङ्कारले सजिन सबल पाइलाहरू अघि सारौं। जे गरौं विचलन गरौं।                
Comments