नयाँ वर्ष

यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए
धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै
माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू।
उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।
केही साउअक्षरहरू कानमा गुनगुनाएर आउनू।
फुटेका कुर्कुच्चाहरूलाई सपनाका पुतलीहरू उड्नसक्ने रङ्गीन क्षितिजहरू दिएर आउनू।
पसिनाका भजन गाइरहेका पाँसुलाहरूभित्र
आजीवन लहराइरहने धानका बालाहरूको बैँश भरेर आउनू।
फुटाएर आउनू खडेरीका रित्ता घैँटाहरू।

नयाँ वर्ष
यदि तिम्रो सुरिलो गीतमा अस्मिता र परिचयको धुन गुन्जिरहेको भए
भञ्ज्याङहरू उक्लँदै, भिरालीहरू तर्दै
कुइरोले छोपेको जङ्गलमा बोधीवृक्ष खोज्न जानू।
कलिलो राजकुमारका अर्द्धमुदित आँखाहरूबाट फलामको दृढता मागेर ल्याउनू।
पस्नू प्रत्येक पाइतालामा गन्तव्यको मांशपेशी बनेर।
फुलिदिनू आस्थाको बैशाख।
फिँजाइदिनू उपलब्धिका बिस्कुनहरू।
Comments