ईक्षणमा अध्येताहरूका मन्तव्य

 पेम्पा तामङ, गान्तोक।
ईक्षण

      
केही नयॉं सोँच र नयॉं विचार साहित्यको श्रीवृद्धिको निम्ति अत्यावश्यक रहन्छ। पुरानो मान्यता र चलनमा केही अभाव, कमी र कमजोरीको अनुभूति नखट्किएसम्म नयॉं धारणाको निर्माण र स्थापना गर्नसकिने छैन। यसको अर्थ पुराना सबै धारणा त्याज्य छन् भनिएको होइन। ती अघिका ज्ञान र विचारले हामीलाई भविष्य देख्न र वर्तमानलाई बुझ्न क्षमता प्रदान गर्दछ। चलन वा प्रचलनको विलोम क्विचलनत् यसरी पाठकलाई झक्झकाउने गरी आमुख भएको छ।
क्विचलनत् शब्द र अवधारणा विनिर्माणीय देखिन्छ। निर्माणको विनिर्माण जस्तै चलनमा प्रचलनको विचलन। जाक दरिदाले deconstruction शब्द remodelling-को पर्यायको रूपमा प्रयोग गरेका थिए।
remodelling एक प्रचलित र पुराना शब्द थियो र विनिर्माणको अवधारणामा सटीक बस्नसक्ने थिएन, यसैले deconstruction भने जो एक बिल्कुल नौलो शब्दनिर्माण थियो।
विनिर्माण शब्दले णात्मक अर्थबोधको भ्रम सिर्जना गरे झैं विचलन शब्दले पनि नकारात्मक अर्थबोधको भ्रम जन्माउँदछ। यस शब्दको यही अभिधेय अर्थको कारण केही टिप्पणीकारहरूले आपत्ति जनाएको देखिन्छ। यद्यपि केही गम्भीर भएर मनन गरे यो स्पष्ट भइहाल्छ, साहित्यलेखन आफै एक विचलन हो। डॉ घनश्याम नेपालले यसको सटीक व्याख्या दिनुभएको छ- निर्माण- विनिर्माण- पुनर्निर्माण-को एउटा अटुट शृङ्खलाबद्ध प्रक्रिया हो विचलन। विचलन-को दोस्रो अङ्कमा विचलन-अभीष्ट-भित्र सुधीर छेत्रीले लेख्नुभएको रहेछ- विचलनको विलोम चलन होइन, प्रचलन हो। चलन र प्रचलन-को अर्थ स्पष्ट गर्दै लेख्नुभएको छ- चलन स्वयं जीवन हुँदा, जीवनशैली र त्यसको अभिव्यक्तिकरण प्रचलन बनेको छ। यसप्रकार विचलन लेखनमा चलन र प्रचलन पारिभाषिक शब्दको रूपमा देखापरेको छ, शब्दकोषीय अर्थको रूपमा होइन।
विचलन लेखन कोरा कल्पना र कलापक्षीय नराखी जीवनोन्मुख भनी बताइएको छ। विचलनले कला र जीवनलाई सँगसँगै अघि बढ़ाउने प्रयत्न गरेको देखिन्छ। यस दृष्टले विचलन-समूह स्वर्गीय रामकृष्ण शर्माको जीवनवादी धारणाबाट अघि बढ़ेको देखिन्छ र यसरी यहॉं उत्तर-रामकृष्ण शर्मा देखिन आउँछ।
यहॉं यस प्रसङ्गमा आस्कर वाइल्डको चर्चा उठाउन सांयोगिक लाग्छ। आस्कर वाइल्डको मान्यता थियो कलाले जीवनको होइन तर जीवनले कलाको अनुकरण गर्दछ। जीवनले कलालाई भन्दा कलाले जीवनलाई अधिक प्रभाव पार्दछ। उनको भनाइअनुसार कला प्रतिवाद हो प्रकृतिको। Art is our spirited protest  प्रकृति आफैआफ अपूर्ण छ, एकालापीय छ। प्रकृतिको यही कमी र कमजोरीको कारण कलाको विकास भएको हो। जीवन पनि प्रकृति हो। जीवन सम्पूर्ण गुणयुक्त छैन। जीवनलाई सौन्दर्यमय बनाउन कलाको आवश्यकता पर्दछ। एकप्रकार नारीलाई आफ्नो रुप निखार्न गर-गहना र आभूषणको खॉंचो परे झैं। कलाले मान्छेलाई जीवनको वास्तविकता-पर्यायबाट उन्मुख गराउँदछ। प्राकृतिक मान्छे वस्त्रहीन नै हुन्छ, कलासचेत मान्छे वस्त्रले ढाकिएको हुन्छ। मान्छेको आभूषण कला हो, जीवन होइन। आस्कर वाइल्डको यो तर्कबाट कलाको भूमिकाको बिल्कुल नयॉं रुप देख्नसकिन्छ। अहिलेको समकालीन पाश्‍चात्य साहित्य भाषिक-खेल (लाङ्ग्वेज गेम)-मा उत्तीर्ण भएको भनिन्छ। साहित्य-लेखन भाषिक खेलमात्र हो भने जीवनरिक्त नै देखिन्छ यो।
विचलन -ले आफूलाई उत्तरआधुनिक सचेत देखाएको छ। समकालीन साहित्यको अनिवार्यता पनि हो। एउटा सर्जक समकालीनतासचेत रहन नसके उसको कृति प्रतिलिपिमात्र  हुनेछ कृति नबनेर।
उत्तरआधुनिकतावादको प्रमुख प्रवर्तकमध्ये एक जोन बार्थ लेख्छन् -'if  Bethoven's sixth were composed today, it would be an embarrassment'  सर्जकले यसकारण नवीनता देखाउन सक्नुपर्दछ।
एक उत्तरआधुनिक हुनु भनेको ग्लोबल हुनु भनेको जस्तै हो। उ  innocent हुँदैन। उ सचेत हुन्छ। विश्‍वभरिका घटनाहरू र मुद्दाहरूप्रति जागरुक रहेको हुन्छ भने आफ्नो निजी समस्याका आफ्नै स्थानीय परिस्थितिअनुसार हल खोज्दछ। उत्तरआधुनिकताको मूलमन्त्र नै हो  'Think globally, act locally'। यस मन्त्र विचलनको पॉंचौं अङ्कमा स्पष्ट भएर आएको देखिन्छ।
विचलन-ले उठाएको एउटा जिम्मेवारी रहेछ उदासीन हुन लागेका पाठकसमूहलाई कवितापक्षीय बनाउने। नेपाली साहित्यका प्रबुद्धजनप्रति कटाक्ष गरेको देखिन्छ -सिद्धान्त जान्ने भोक र सिद्धान्त जानेको अहम् एकातिर प्रबुद्धजनमा विकासशील देखिन्छ भने अर्कातिर पाठकको स्तर र ग्रहणशीलता दशकौं पछि परिसकेको कुरो आजपनि अध्ययनको विषय हुनसक्छ भनी कुनै विद्वान्ले बोध नगर्नु अर्को विडम्बना नै मानौं।  सुधीरको यो प्रहार  Ivory Tower बुद्धिजीवीप्रति हुन्।
विचलन-मा लेखिएको छ -विचलन अभियान सहनिर्माण, सहवार्त्ता, सह-अनुभूति र सह-लेखनमा आधारित। यसले स्पष्ट गराएको छ, लेखकको मुख्य भूमिकालाई झारेर पाठकसित हाराहारीमा राख्ने प्रयास गरिएको छ। लेखकको प्रमुखता कायम नरहने यो कृतिमा। कृतिमा लेखक र पाठकको बराबर हक रहने। लेखनमा लेखकको विशितातर्फलाई नराखी आम मान्छेको स्तरमा राखिने।
विचलन-लेखन अरोमान्सेली लेखन भनिएको छ। अरोमान्सेलीहरूमा प्रख्यात छन् टी एस इलियट। त्यसो हो भने विचलनको लेखनमा कल्पनाको उड़ान कम हुनेछ र जीवनका मूलभूत बुनियादी समस्याप्रति अधिक सचेत रहनेछन्। त्यसैले होला विचलन-लेखनमा लेखक, पाठक र लेखक र लेखक र पाठकदेखि बाहिर एउटा आम मान्छे एकैसाथ देखाइने गरिएको पाइन्छ। कवितामा यसप्रकारको प्रयोग नौलो नै भन्नसकिन्छ। हुनत यो मार्क्सवादी अवधारणाभित्र पर्ने एक शाखा हो।
नभन्दै विचलन-कविहरूको सर्वाधिक आकर्षण कविताप्रतिको अगाध आस्था र आइ ए रिचर्ड्सको मान्यता कविता 'it is perfectly possible means of overcoming chaos' भने झैं रहेको देखिन्छ। यसको ठीक विपरीतमा रहेको छ, थियोजेर एडोर्नोको 'Negative Dialectics'।एडोर्नो Holocaust-को स्मरण गराउँदै भन्छ, नाजीहरूले यहूदीहरूको नरसंहार गरे, त्यसपछि के मानवता सम्भव छ र ? ग्यास-च्याम्बरभित्र हजारौंको सङ्ख्यामा के नारी, के पुरूष, के वृद्ध, के बालक सबैलाई एकै ठाउँ थुनेर तिनीहरूको हत्या गरिए। मृत्युको भयले आतङ्कित ती यहूदीहरूको चिच्याहटलाई दबाउन ठूलो आवाजमा सङ्गीत बजाइदिन्थेत्रे। त्यतिबेला सङ्गीत पनि नरसंहारको हतियार बनेको थियो। एडोर्नो बताउँछन् -मानवजातिले अब समवेदनाको हत्या गरिसकेको छ। सम्वेदना नरहेपछि कविता सम्भव छैन। अब कविताको मृत्यु भइसकेको छ।
यद्धपि कविता लेखिरहे। तर यो होलोकस्ट-उत्तर कविता अघिका कविताजस्ता नभएर टालेको जस्तो (pastiche), कोलाज जस्तो, विशृङ्खलित देखिनथाल्यो। यसप्रकारको कविता लेख्ने एक समूह थियो जसलाई L=A=N=G=U=A=G=E poets  भनियो। यिनै कविहरूका कविताबाट उत्तरआधुनिक कवितालेखनको सुत्रपात भयो।
विचलन-मा मूर्तिभञ्जन, रुढिभञ्जन, अत: नयॉं प्रतिमास्थापन (डॉ घनश्याम नेपाल) गर्ने प्रयास देखिन्छ। उदाहारणार्थ -सालाहरू, त्रासदी त्रासदी त्रासदी, साइबर-क्याफेमा एकलव्य, डायस्पोरा, हरिश्‍चन्द्र(हरू), छैटौं पाण्डव, माछाको मोल आदि कविताहरूलाई हेर्नसकिनेछ। धेरै अर्थमा यी कविताहरू भिन्न छन् अघिका कविताहरूभन्दा। यसैले नेपाली कविताले अब अर्को खुड्किला पार गरेको स्प देखाएको छ। यी कविताहरूमा निर्मित भाषा बेग्लै छन्।
विचलन-को यस प्रयासलाई हामी पाश्‍चात्य साहित्यको  दादावाद र अतियथार्थवाद (dadaism and surrealism)-सँग तुलना गर्न प्रासङ्गिक ठान्छौं। दादा र अतियथार्थवादी अभियान लेखन अवॉं-गार्दे थिए भने विचलन पनि अवॉं-गार्दे (Avant- Garde) लेखन नै सिद्ध हुँदछ।
उज्ज्वल, सुधीर र जयका कविताहरू समकालीन युग र समाजप्रति व्यङ्ग्य छन् भने सामाजिक भागीदारी र दायित्वको बोध पनि रहेको देखिन्छ। यही कुरा सुधीरले लेखेका छन् - साहित्यकारहरू केवल लेख्ने मान्छेमात्र त होइनन्। कहिले जुलुसमा भेटिन्छ, कहिले हड़तालमा, कहिले धर्नामा, कहिले साङ्गठनिक सभाहरूमा।
ठीक यही धारणा राख्दथे दादावादीहरूले, कलालाई जीवनबाट निस्पृह राख्ने अवधारणाबाट सशङ्कित थिए उनीहरू। जीवनको अनुभूति-परीक्षण पक्षमा थिए। समकालीन जीवन र जगतको असफलता र नैराश्यप्रति तीब्र विरोध जनाएका थिए। नभन्दै क्विचलनसमूहत्-ले भने यो तीब्रताको क्अतिवादत्-लाई स्वीकारेको देखिन्न। दादावाद भने भर्त्सनापूर्ण लेखनमा पछि पर्दैनथिए।
दादावाद र अतियथार्थवादका प्रमुख प्रवर्त्तकमध्ये एक आन्द्रे व्रितोंले 1920-मा पिकावियाको Cannibal Manifesto पढ़ेर सुनाएका थिए।
'What are you doing here, planted on your backsides like a
load of serious mugs..... you are serious people, you smell worse
than cowdung
DADA, as for it, it smells for nothing, it is nothing, nothing,
nothing.
It is like your hopes: nothing / like your heaven: nothing.....
Like your politicians: nothing....? like your artists, nothing.....'

दादावादीहरू भाषाप्रति उत्तिकै सजग थिए र खबरपत्रिकामा संवाददाताहरूले प्रयोग गरेका भाषालाई भाषाको दुष्प्रयोग मान्दथे। जर्मन दार्शनिक नित्सेले भाषालाई 'mobile army of metaphors'  भनेका थिए। दादावादीहरू पनि भाषाको सम्प्रेषणक्षमताप्रति संदिग्ध देखिन्थे।
यसैले तिनीहरू phonetical कविताहरू लेख्थे।
दादावादको विपरीत विचलन समूहले भने भाषाको आयामलाई वृद्धि गरेर समकालीन चल्ती शब्दहरूको प्रयोगमा उद्यम रहेका छन्।
विचलन-मा परेका कविताहरू अघि नै भनिएको छ अवॉं-गार्दे  छन्, भने उत्तरआधुनिक पनि छन्। पेश्टिच, पुनर्लेखन, मूर्तिभञ्जन, आदिमता, आधुनिकता सबै देखिन्छन्। उत्तरआधुनिक लेखनमा पोर्नोग्राफिक लेखन पनि देखिन्छ भने यहॉं पनि केही कविताहरू पोर्नोग्राफिक छन्।
समग्रमा हेर्दा विचलनले धेरै पक्ष एकैचोटि सम्हाल्न पुगेको भान हुन्छ। कलालाई जीवनवादी बनाउन चाहन्छन् भने अर्कोतिर शिल्पलाई उत्तिकै महत्व दिइएको बुझिन्छ। सबअल्टर्न अवधारणा पनि बोकेकै छ यसले। किनारीकृत, अवहेलित गोर्खा अस्मितालाई यसले छुने प्रयास गरेको छ। उत्तर-औपनिवेशिक सिद्धान्त पनि समेटेको छ। नेपाली पाठकलाई कविताप्रिय बनाउने र पाठक-सङ्ख्या बढ़ाउने जमर्को गरिएको छ। तर कलाको उदात्तताको मर्यादा रहनु आवश्यक छ। कविताको विषयवस्तु पछि गएर समयको अन्तरालपछि सान्दर्भिक नरहला तर त्यसबेला पनि यी कविता पढ़िनलाई यसको कलापक्ष दह्रिलो रहन आवश्यक छ। मध्ययुगीन यूरोपको अन्धकारमय कालमा त्यही युगलाई प्रतिनिधित्व गर्दै लेखिएको दांतेको काव्य Inferno तर अहिलेको उत्तरआधुनिक युगका पाठकलाई उत्तिकै आनन्द दिलाउने क्षमता राख्दछ। यसो हुनसकेको यसको भाषा र कलाले नै हो। सरलता, पठनीयता र क्लिता पाठको कसी नभएर शैलीको प्रदर्शन मात्र हो। जेम्स जोयसको युलिसस अति कठिन पाठ हो तर बिशौं शताब्दीको सर्वश्रेष्ठ उपन्यास यही मानिन्छ।
विचलन-मा परेका केही कविताहरू लय र गीत र्(lyrical) -मा आस्थावान देखिन्छन्। यो कविताप्रतिको पारम्परिक प्रभावले गर्दा हो। यो पनि एकप्रकारले कवि हुनुको हैकमवाद नै हो। कविको मूर्तिभञ्जन नभएर मूर्तिस्थापना भयो - एउटा मूर्ति तोड़ेर अर्को स्थापना गरे झैं मात्र। हुनुपर्ने चाहिँ मूर्ति नै नहुनु हो। कवि निखोज रहनुपर्छ। पाठकको शासनकालमा कवि राजा भएर आउनुभएन।
लेखन सबै पुनर्लेखनमात्र भएपछि मौलिकताको प्रश्‍न उठेन। तर पुनर्लेखन देखिनुपर्‍यो। प्लेगियारिज्म हुनुपर्छ कलात्मक ढङ्गमा। विचलन-का धेरै कविताहरूमा समसामयिक मुद्दाहरू र जातीय प्रश्‍न सशक्तताका साथ उठाइएका छन्। तर ती सबै खबरकागतमा आधारित वास्तविक स्थितिबाट नरहेर कविको अनुभूतिजन्यमात्र छन्।
उज्ज्वल, सुधीर र जयका कविताहरूले आभास दिलाउँदछ, अब नेपाली कविताले कोल्टे फेरेको छ। एउटा विभाजन सिर्जना गर्न सफल रहेको छ - पूर्वका कविताहरू र विचलनकालका कविताहरूमा। यो नै यसको महत् उपलब्धि हो।
    000
Comments