सुधीर छेत्रीका कविताहरू

                                          सड़क सड़क सहर सहर

मैला भरिया झुल्दैछ
चियादोकानको बन्द झरापअघि।
चिसो मृत्युको खोला स्वाट्ट पसेको छ
सहरबाट त्यसको शरीरभित्र।
धमिला गल्लीहरू
छातीमा चकमन्नता चेपेर
पिसाबको गन्ध सुँघ्दै
दयनीय आँखाले
डङ्गुर कुचैला हेरिरहेछ।

सड़क घरि देशको कानसम्म पुग्नसक्ने
ठूलो ध्वनिको सुरूङ खन्न व्यस्त हुन्छ,
घरि आक्रोशको तातोले खुइलिएर
विभत्स मरुभूमि झैँ फैलन्छ।
यही सहर र सड़कको लाम्टा चुसेर हुर्केको
पुर्तुङ कालो दुर्गन्धित केटो भने
नाङ्गो पाइतालाले
भुँइको चोट गनिरहेछ।

शिवलिङ्गमा तॉंबाको भॉंड़ाको पिँधबाट
दूध झरेजस्तै
सहर थोपा थोपा रित्तिरहेछ।

भरिएको दूधको ढुङ्ग्रो र
नयॉं खबरकागजको रूप बोकेर,
झाड़ु र टिन,
म्युनिसिप्यालिटीको जीर्ण गाड़ी,
केही नट्टी-ब्वाय र डक्ब्याक,
लाटालुटीको एकपत्रा कत्ला
अनि
दलबहादुर गिरीको भावशून्य मूर्ति टिपेर
सड़कले नयॉं पृष्ठ पल्टाउँछ
भोलि।

दुइ-चार पेग भोद्काको रम्रम्सम्म,
घोट्टिइसकेको त्यही रट्टु गीत,
दस-बीशका केही नयॉं-पुराना नोटहरू,
तुँवालो, धुवॉं र दुर्गन्धले लाञ्छित गोधूलि,
बेकारी आक्रोश र
ल्याम्पपोमा फुटेका बल्ब,
केही गृहकार्य,
भॉंच्चिएको पेन्सिल,
कागजमा पोको पारेको मुराइको डल्ला

युग ढाक्ने सुस्केराको बाक्लो बिम्ब बोकेर
सहरका अन्तिम अक्षरहरू कोरिन्छन्
भोलि।

अन्तिमपटक तेल थपेको धिब्रीजस्तै
एटीएमको चौकीदार भएर
झुक्रिरहेको छ सहर।

कस्सैलाई यो सहरमा थाहा छैन
माथिको घुम्तीमा उभेर
एउटा बहुला हुरीले ओह्रालै हेरिबसेको छ।
थाहा छैन
गुजुल्टिएर टॉंड़मुनि बसेको छ
एउटा षड़्यन्त्र।

छातीको टॉंक लाउन बिर्सेको,
दौराको तुना कस्न भुलेको
लबस्तरा यो सड़कको नाङ्गोपनलाई
हेरिरहेछन्
अवयस्क एकान्त र अक्षरहरूले।

Comments