डा. गोविन्दराज भट्टराई

कालेबुङ्को एउटा चिठी र सिर्जनामा विचलनका कुरा

एकदिन टाढ़ा कालेबुङ्का भाइ सुधीरले सुन्दर अक्षरमा लेखेका पत्र पाएँ। हुलाकबाट पत्र पाउँदा पनि हर्ष लाग्छ। त्यसमा उनले भनेका थिए-हामी एकहूल नयॉं मिलेर विचलन प्रकाशन गर्दछौं। केही नयॉं साहित्यको अभिष्ट बोकेर। कृपया गरी आफ्नो धारणा-आशिर्वाद दिनुहोला।
   मलाई खुशी लाग्यो र केही शब्द बिजुलीपत्रमा लेखी वायुवेगले उड़ाइदिएँ। मलाई लागिरह्यो-हामीले आफू हिड़्ने अथवा अरुलाई प्रोत्साहित गर्ने एउटै कुरा छ-नयॉं मार्ग जुन सधैं अप्ठ्यारो हुन्छ।
   त्यसको निकै समयपछि एकदिन कालेबुङ्देखि एकजना भाइ आए-उज्जवल बमजन। मलाई खोज्दै कीर्तिपुर पुगे। उनले केही कोशेली पनि बोकी ल्याएका थिए-कालेबुङ् साहित्य उत्थान समितिको प्रकाशन परिप्रेक्ष्य (2006), उज्जवल बमजनकै कवितासङ्ग्रह पुनरुत्थान क्रान्तिको (2006) र विचलन नामक साहित्यिक पत्रिकाका अङ्क 1 र 2 (2007)। आफ्ना बाले पढ़ेको ठाउँ; त्यहीँबाट पारसमणि प्रधानका उपयोगी पुस्तक लगिदिनुहुन्थ्यो धरणीधरका नैवेद्यको श्‍लोक सम्झन्छु : नेपाली
ग्वाङ्ग्रो फलामे ढ्याङ्ग्रो
आदि। तर म त्यहॉं पुगेको थिइनँ। उज्जवल यी कोशेली लिएर आएपछि खुसी लाग्यो। पुगेजस्तै लाग्यो।
   यी चारैवटा कृति हेरेँ। यी सबै नौला र नयॉं मार्गतिर सङ्केत गर्ने थिए। तर म विशेष गरी विचलनसित जोड़िएकोले आज तिनैबारे केही बोल्न चाहन्छु।
   विचलनका दुवै अङ्कले गरेको प्रतिबद्धता मलाई धेरै नौलो र सराहनीय लाग्यो। यसमा विचलनको एक समूह उपस्थित छ-सुधीर छेत्री,उज्जवल बमजन,मनोज बोगटी,उमेश उपमा,सूरज रोसूरि र राजेन्द्र ढकालले निर्मित। पहिलो अङ्कमै यसका छवटा अभिष्ट राखिएका छन्। छजना संस्थापकको संख्याले पनि त्यो तय गरेको हुनसक्छ। छजनै अभाङ्गार्दले बोलेका एकएक अंश उद्धृत गर्दा पनि विचलनको आशय बुझ्नसकिन्छ किनभने छ वटा अभिष्ट बिन्दुमा छ युवाको सहमति प्रष्ट छ।
   बेग्लै दृष्टि, शब्दछनौट, वैचारिक धरातल, समसामयिकता र अभिष्ट लेख्न तम्सिने यो युवा समूहले सान्दर्भिक विविधता त्याज्य नठानी अनि लेखनको गम्भीर उत्तरदायित्वबाट पलायन नबनी विचलनमा प्रविष्टि लिएको छ भनेका छन् पहिला अभियन्ता सुधीर छेत्रीले।
   मलाई लाग्यो यो समूहले अब नयॉं चेतना पक्रेछ, यो नवीन विश्‍वतिर फर्केछ, यसले लेखनमा निरन्तरतता-विचलनको पथ पक्रेछ।
   मनोज बोगटीले भनेका छन्-विषय स्वतन्त्र छ। लेखन र पठन दुवै स्वत: स्वतन्त्र यथार्थ छ।
   राजेन्द्र ढकालले- अर्कै रुप, रङ्ग, स्वाद, गन्ध अर्कै
   सूरज रोसूरिले-समय जस्तै विचार पनि स्थायी छैन
   उज्जवल बमजनको कुराले सेजॉंलाई सम्झाउँछ- दृश्यहरू आफ्नै आँखाहरूले हेरिरहँदा पलपल, दिन-प्रतिदिन एउटा टाकुराबाट भिन्नाभिन्नै देखिँदोरहेछ।
फेरि त्यहीँ अरुहरूले फरक देखेको महसूस गर्दारहेछन्।
   उमेश उपमाले- उन्मुक्त छन् विचलनका विचारहरू। सोचहरू
   यी उद्धरण पर्याप्त छन्। यति बुझ्नु पर्याप्त छ। लेखनले नयॉं पथ लिइसक्यो। सिर्जना, चिन्तन र त्यसको प्रक्रिया उल्टिइसक्यो। अब त्यसबारे नयॉं सत्य खोजेहरू आए। यहॉं नेपालमा ता धेरै अघि बढ़ेको छ नव चिन्तन, त्यहॉं पनि यसरी एक हूल उदाएछ, म खुशीले नाचेँ।
   उज्जवल बमजनको पुनरलेखन डान्सबारमा मुना  मलाई धेरै सुन्दर टेक्निक लाग्यो। उता एड्सग्रस्त मदन को स्थिति आज भए त्यस्तै हुन्छ, ठीक।
   अनि सुधीर छेत्रीका तीन कवितांश पनि त्यस्तै नवपथका छन्। दोस्रो अङ्कमा हेरेँ- सुधीर छेत्रीको अभिष्टले विचलनका सारा कुरा प्रष्ट पारेको छ- कला र जीवन जति च्यातेपनि असम्पृक्त रहन्नन्। एकाकार हुन्। यो म (हामी) लाई अधिक मनपर्ने कुरा हो। महान् कलाको सिर्जनालाई यही सिद्धान्तले उचालेको छ। निरन्तरता दिएको छ।
   धेरैले कला र जीवनलाई छुट्याएर हेर्न खोजेका छन्, केही नदेखेर निराशिएका छन्। यी कुरालाई असम्पृक्त बनाउन मरेर बल गर्दछन्, तर त्यो बल त्यसैत्यसै खेर गएको छ, कतै काम नलागी।
   यसरी विचलनकाहरू भने भावपक्ष र शिल्पपक्षको नवीकरणतिर लागेका छन्। अन्त्यका दुई बुँदा पढ़्दा लाग्छ- विचलनले सिर्जनाको नयॉं, सामयिक परिभाषा बुझेको छ। जगतलाई ती कुरा बुझाउन खोजेको छु।
0 फेस्टुन, होर्डिङ, विज्ञापन, रसीद, ब्रोस्युर सबैतिर हाम्रै शब्दहरू
छन्।भाषा छ। तीहरू भिन्नै होइनन्। साहित्य अब तटस्थ, निरपेक्ष र एकालापी
रहनसक्तैन।   कविताले सङ्केत, परिभाषा, शब्दावली, रुप र शैली खिा बस्दा
राजनीति, समाजविज्ञान, बहुसंस्कृतिवाद, उपभोक्तासंस्कार, साइबरनेटिक्सका
कन्टेन्ट्सहरूलाई सीप र कलात्मकताले कुँद्छ।
0 यसको म पूर्ण समर्थन गर्दछु। यो युगवोध हो। भोलिको गति र चाल बुझ्ने
प्रयत्न हो। अब हरेक कुरा पुनर्परिभाषित हुँदैछ, हुनै पर्नेछ। सिर्जना र
मूल्याङ्कनको क्षेत्र, विधा, प्रक्रिया र टेक्निकमा पनि त्यही कुरा लागू
हुन्छ।
0 वैश्‍विक चेतना र स्थानीय रङ्गसित समसामयिक अभिव्यक्तिको आरनबाट
झिकाइएका क्लाग्ने साहित्यिक हात-हतियारले वाङ्मयिक बगैँचा गोड़्न,
छिमल्न, खन्न र रोप्न निस्केका सिर्जनशील समूहको नाम हो विचलन ।

   त्यस लगत्तै सुधीर छेत्रीका कवितांश छन्-
   स्कूलबाट
   खेतबारीहरूबाट
   थुर्रिएको गोलीको आवाजले
   हावालाई मृत्युमय
   रङ्ग दिएको छ।

   यो हाम्रो समयको एक त्रासदी चित्र हो।
   अर्को उज्जवल बमजनकृत दुई कविता सुन्दर पुनर्लेखन हुन्। पुनर्लेखनको सिद्धान्तबारे मैले उत्तरआधुनिक ऐना (2062) मा पनि प्रकाश पारेको छु। मलाई उनको हिप्हप् ईश्‍वर  ता अधिक मन परेर आफ्नो प्रकाशोन्मुख कृति उत्तरआधुनिक विमर्शको एक रचनामा राखेको छु। अब यसरी नेपाली साहित्य त्यो कथनतिर पनि ढल्किन लागेको छ।
   दुई वर्ष बितेछन्, माथि गेजिङ्मा जय क्याक्टससित भेट भएको सम्झन्छु, यहॉं उनको सुन्दर कविता रहेछ। उहॉंले मेरो एक अन्तरवार्त्ता लिएर प्रकाशित गरिदिनुभएको सम्झन्छु। अनि शरद् छेत्रीज्यूले नयॉं लेखनको विश्‍लेषण र व्याख्या प्रस्तुत गरेका छन्। ती वस्तुगत मूल्याङ्कन हुन्।
   एकदिन टाढ़ा कालेबुङ्देखि भाइ आएर यति कोशेली छोड़िगएका थिए। अब कालेबुङ्ले सामयिक गति पक्रेछ, नयॉं सोचमा उत्रेछ, नयॉं परिभाषा बुनेछ। अब जीवन अर्कै भयो। अर्कै परिवेशले निल्दैछ। एउटा ग्लोबल वर्तमान। टाइम र स्पेसको सिमाना मेटिएको बेला। देशिक र कालिक सिमानाहरू मेटिएका बेला। लेखिएका कुरा हाम्रो लागि पुनर्लिखित हुनथालेको बेला, एउटा
बोर्डरलेसनेसको परिस्थिति। यहॉं पनि रङ्गवादी समूह नवचिन्तन अभ्यास, प्रयोगशीलता र विद्रोहिताले अघि छन् धेरै। धेरै परिभाषा भॉंचिए, कुड़्किए, मकाए। धेरै नयॉं आए, आउँदैछन्, कलिलै छन्, अझै आउनेछन्।
   यताको प्रयोगोन्मुख नव कविताको लागि धर्मेन्द्रविक्रमको भीरैभीरको रङ्ग अथवा ईश्‍वरको आत्महत्याको जग्गा र अरु स्व.स्वप्निल स्मृति, चन्द्रवीर तुम्वापो, समदर्शी काइँला, चन्द्र योङ्यॉं, प्रकाश विमिलहरूका कृति हेर्न सल्लाह दिन्छु।
   विचलन सोच त्यहॉंको अभाङ्गार्दको प्रयत्न हो। जो अति प्रशंसनीय छ। म दाजु भएर यसबेला भाइबहिनीलाई एक बात भन्छु, नरिसाइदिनु होला। नयॉं मार्ग खोज र त्यसमा हिँड़्न नयॉं कुरा पढ़्नुपर्छ, धेरै नयॉं कुरा पढ़्नुपर्छ। हामीले गरेका वा गर्न खोजेका सारा प्रयत्नहरू या त अघि आइसकेका हुन्छन्, नभए पनि ती कहीँ कतै परिभाषित भइसकेका छन्। सॉंच्चै नयॉं त केही छैन, छ
केवल पुनरावृत्ति। त्यसैले कहॉं छ शास्त्र, त्यसले हामीलाई के भन्छ, त्यो चाहिँ पत्ता लगाउनुहोला। धेरै पढ़्ने, थोरै लेख्ने, लेखेपछि अन्तिम लेख्ने, शब्दको र विचारको अन्तिम शक्ति निचोरेर लेख्ने थोपाथोपा- यस्तै गर्नुपर्छ। अब त शब्द र विचारभन्दा अर्को कुराले पनि लेख्नथालेका छन्। यहॉंका भिजुएल पोएट्री हेर्नू रङ्गवादीका- एउटा क्रान्ति नै आएको छ।
   तर जे जति जस्तो लेखे पनि लेखने कुरा समय नै हो, यसको दु:ख र पीड़ा नै हो, बञ्चना र भय नै हो ;केही खुसी र बॉंकी होला अवशाद। मुटुमा त त्यही हुनुपर्छ- तपाईंहरूकोमा रहेछ। त्यसैले त जीवनसँग जोड़िएको कला। म आज अत्यधिक प्रसन्न छु।
   आज मात्र मैले मिमांशा गरिसकेँ- रौला बार्टको लेखकको मृत्यु  उनको द डेथ अब् दि अथरको अनुवाद, टीका र मिमांशा। धेरै नयॉं होइन विश्‍वको लागि तर यो कुरा हाम्रो लागि पर्याप्त नयॉं हो। उनले हाइडेगर र डेरिडाले पनि भनेका- मान्छेले लेख्दैन, भाषाले मान्छेलाई लेखिरहन्छ। सार्त्रको पनि
एउटा लाइन त्यस्तै छ।
   त्यही हो हामीलाई भाषाले लेखेको लेख्यै छ। यो हो पाठकीय अस्तित्वको उच्चतामा बनेको पाठक प्रतिक्रिया सिद्धान्तको आधारशीला। परिभाषा बदलिएको, तीनहजार वर्ष पुरानो परम्परा चर्किएको स्थिति- त्यसको उदाहरण अब हामी नयॉंका लागि, नयॉंले निर्मित नयॉं हौं। पुरानो पनि टॉंसिएकै छ हामीमा तर त्यो काम लाग्दैन। भण्डारको एक बाक्सा जतनले लुकाइराख्न मात्रै। प्रयोगमा त नयैँ चाहिन्छ किनकि भोलि अर्कै भएर झर्दैछ।
   हरेक नयॉं सिर्जना एक विचलन हो ;नयॉं मात्र भएर पुग्दैन जस्तो कि केवल अक्षरमा वा कलेवरमा नयॉंले पुग्दैन। चेतनामा, भावनामा, अर्थमा, शिल्पमा नयॉं। परम्पराले कक्रक्कै पारेको ठाउँमा नवपथको चिन्तन कम्ती गाह्रो पर्दैन। यतिखेर तपाईंहरूका आँटको अधिक प्रशंसा गर्दछु।
   म भन्दै थिएँ- हाम्रा पाइला नयॉं दिशातिर हुनुपर्छ, विचलनले ठीक त्यही गरेछ। आज म हर्षले नॉंचेको छु यहीँ बसेर।
   फेरि पनि खबर पाउँ। तपाईंहरूको प्रेरणा र प्रोत्साहन आवश्यक छ, गोजीभरि बोकेर म उभिएको उभियै छु, कालेबुङ् ताकेर।
24 साउन 2064
Comments