डा. घनश्याम नेपाल

यी नयॉं उद्यमीहरू विचलनका
   ईषत् चञ्चल उत्तुङ्ग दार्जिलिङ। हिमाल र समतलमाझ दोलायमान खरसाङ। अलिक उता कुनामा एक्लिएर उभिएको लेखनाथीय केवँरा-झैं जिब्रो काढ्दो  डुवर्स। यता एक छेउमा ढिको जमेको शान्त तलाउ कालेबुङ।
   सतहमा जमेको र शान्त तर भित्र भित्र सदैव तरल प्रवाहमान चलायमान यस तलाउमा तरङ्ग उठेको छ अहिले एउटा सुर-लहर बोकेर- विचलन-को तरङ्ग।
   विचलन, प्रचलन छोडेर नयॉं र विशेष किसिमको चलन चयन। विकल्पचयन-का अवधारणा सदैव आफूभित्र समेटेर हिँडेको हुन्छ विचलन।
   अकरण वा नकारको सूचक होइन विचलन, विशेष किसिमको चलन यो, विशिष्ट चलन। नकारको बाटो भएर सकारको पक्की सडक समात्ने एउटा मार्ग  यो- दण्डीय मार्ग। अर्थात् नेति नेति।
   मूर्तिभञ्जन, रूढिभञ्जन, अत: नयॉं प्रतिमास्थापन, नयॉं चलन प्रवर्तन, नयॉं प्रचलन- प्रवर्तनपछि पर्खेर बस्छ अर्को नयॉं विचलन। एउटा निरन्तर मूर्तिभञ्जन प्रक्रियाको अर्को नाउँ विचलन।
   एउटा अस्थायी वाद, आन्दोलन  वा हलचल मात्र भन्न मिल्दैन विचलनलाई। कला-सृजनमात्रको नित्य धर्म हो यो त। निर्माण-विनिर्माण-पुनर्निर्माण-को एउटा अटुट शृङ्खलाबद्ध प्रक्रिया हो विचलन। यही हो कला सृजनको नित्य प्रणाली।
   साहित्यिक कृति सदैव आत्मध्वंशात्मक हुन्छ भन्छ उत्तरसंरचनावाद। श्रेष्ठता हत्याउने एउटा अटुट प्रयासको क्रममा घटित हुन्छ यो विचलन। भाषिक सङ्केतको निरन्तर पाइतोसर्दो प्रकृति चरित्रले गर्दा भाषामा रचिने कलाका रूपमा साहित्य पनि निरन्तर विचलनधर्मी हुन्छ; विचलनको मार्ग
भएर नहिँडी धरै छैन त्यसलाई भन्छन् रोलॉं बार्थ। यसो हुने हुँदा नै भनिएको हो, आफ्नो नैसर्गिक रूपमा साहित्य जहिल्यै मूर्तिभञ्जक (आइकनोक्लास्टिक) छ, आत्मोच्छेदनधर्मी (सब्वर्सिव) छ। आफै आफ्नो सिर्जना गर्छ, आफै आफ्नो उपभोग गर्छ, आफै आफूलाई भत्काउँछ र आफ्नै इतिहासको
खण्डहरभित्रबाट नयॉं आफूको पुन: रचना गर्दछ।
     त्यसो र नै युग-युगका बुधजनले भने- विचलन कलाको जीवित  हो। शब्द उनीहरूले भिन्न भिन्न लिए, तर प्रत्यय यही थियो।
     कलाको जीवितका रूपमा विचलन आजमात्र वा हिजोमात्र जन्मेको नयॉं अवधारणा होइन। कलाको सृजन र विकासको इतिहास भन्नु नै, वस्तुत: विचलनको इतिहास हो। काल परीक्षित एउटा मान्यता हो यो। काव्यको जीवित अलङ्कारलाई मान्ने आद्यालङ्कारिक भामहले अलङ्कारलाई वक्रताविधायक उक्तिका रूपमा परिभाषित गरे। यही वक्रताविधान-का अनन्त सम्भावना र असङ्ख्य
विकल्पहरूतर्फ इङ्गन गर्दै दण्डीले भने अस्त्यनेको गिरां मार्ग: सूक्ष्मभेद: परस्परम्  अर्थात् गिरा (वाणी)-का अनेकौं मार्ग वा शैली छन् र तिनीहरूमाझ सूक्ष्म भेदहरू छन् जसको वर्णन गरिसक्नु छैन।
रसवादीहरूको साधारणीकरण-भित्र यही विचलनको अन्त:प्रक्रिया रहेको छ,व्यष्टिको र समष्टिमा अन्तर्लयनको प्रक्रिया। यसैभित्र छ त्यो अनुभूतिको वैचित्र्य वा चमत्कारप्राणत्व। त्यसैलाई वक्रोक्ति भने कुन्तकले र त्यही वक्रोक्ति अर्थात् वैदग्ध्यभङ्गीभणिति-लाई नै काव्यको जीवित वा प्राण माने। वक्रता भन्नु नै विचलन हो।
    भारतीय होस् वा पाश्‍चात्य, जुनै काव्यशास्त्रले पनि काव्य-कलालाई असाधारण, अनन्य, अद्भुत वा अनौठो, विचित्र, अपरम्परित, अतिशयतापूर्ण, विचलनशील, विपथनशील वा विच्छित्तिपूर्ण  अभिव्यक्तिको रूपमा हेरेको पाइन्छ। अनुकरणद्वारा अभिनवको सिर्जना नै कला मान्ने एरिस्टोटलीय
मान्यता होस् वा जगत् ले ओढेको परिचितताको बर्की कविताले उघारिदिन्छ   भन्ने शेलीको धारणा (अ डिफेन्स अव् पोयट्री,1821) होस्, व्यक्तिबाट कृतिको पृथक्करण-को वकालती गर्ने टि एस इलियटको निर्वैयक्तिकताको सिद्धान्त होस् अथवा ढुङ्गो अझ ढुङ्गिलो रूपमा बोध गराउने जुक्ति अर्थात् ओस्त्रानेनाइ नै कलाको मुख्य जुक्ति मान्ने विक्तोर स्क्लोव्स्कीको कलासिद्धान्त होस् कि अपरिचितीकरण (डिफ्यामिलियराइजेसन)-को शैलीवैज्ञानिक मान्यता होस्, अथवा साहित्यलाई
सामान्य भाषामाथि गरिएको आयोजित हिंसा ठहराउने रोमन याकोब्सनको दृष्टिकोण होस्, यही विचलन-व्यापार नै सर्वत्र भिन्न भिन्न संज्ञा र विशेषणहरूद्वारा उक्त र प्रतिपादित बन्दै आइरहेको देखिन्छ।
   यतिको दह्रो परम्परा र पृष्ठभूमि रहेको देखिएपछि कालेबुङबाट उठेको यो विचलन-को स्वरलाई नकरात्मक, नितान्त नौलोभुइँफुट्टा मत मान्न कसै सकिन्न। साहित्य सृजनको  चिरन्तन वास्तवताप्रतिको चेतले ब्युँझाइएका युवा स्रष्टाहरूको सृजनाधार वा सैद्धान्तिक आस्था भने यो अवश्यै हो। निख्लो भावुकता, साधनाविहीन अपरिमार्जित उद्गार, जातिवाद, साघुँरो क्षेत्रीय चेतनाको कुण्डलीबद्ध प्रकाशन, व्यक्तिगत र स्थूल अनुभवहरूको अभिधेय र अधिकत: अर्थहीन प्रकाशन आदिले गॉंजिएर कुँजिएर बसेको अधिकत: भारतेली नेपाली लेखन र खासगरी कविताका क्षेत्रमा यस किसिमको जमर्को अवश्य एउटा आशलाग्दो कुरा हो।
    तेस्रो अङ्क पनि प्रकाशमा आइसकेको विचलन-ले आफ्नो अभी कथनमा भनेका कुराको थाक एकातिर राखी त्यसमा प्रकाशित कथा-कविताहरू मात्र हातमा लिएर कुनै पूर्वाग्रहबिना ओल्टाई पल्टाई हेर्छ पाठक- प्रश्‍न मनमा बोकेर- हिजो लेखिएको साहित्यबाट अथवा आफ्नो समयको र आज पनि वरपर अरूले लेख्तैगरेको साहित्यबाट कतिसम्म विचलनयुक्त छ त यो नवलेखन!
    आत्मवेदनाग्रस्त एकालापी लेखनको लामो र भाषिक साधनाशून्य लर्कोका हाराहारी उभ्याएर  विचलन-का उज्जवल, सुधीर, सूरज, र सतीशहरूलाई हेरिहेरौं भन्छ पाठक र हरफहरू छाम्नथाल्छ। दॉंजिहेर्छ लेख्तै आइरहेका मनप्रसाद, नोर्जाङ, र राजेन्द्रहरूसित अनि सँगसँगै लेख्तैगरेका केवल, उदय, सञ्जय र सञ्जय, अनि जयहरूसित पनि। पर्याप्त लाग्दैन तुलनालाई जतिसम्म आएका छन् यी तीन अङ्कमा। तैपनि यी नयॉंका उद्यमीहरूको प्रयासले जुन आग्रह गरिरहेछ पाठकसँग प्रतिक्रियाको, उसले केही न केही त नभनी धरै पाइरहेको छैन। अनि, पाठकोवाच:।
    उज्जवलमा विचारको जुन तारल्य छ त्यससँग हलमिल्दो सघनता आइनपुग्दा पन्यालो बगेको प्रतीत हुन्छ। एउटा आफ्नै आधुनिक बङ्गलो / धेरै तल्लाको /चारैतिर फेन्सिङले बारेको /केही ल्याटेस्ट मोडलका मोटरहरू /....निखोज भएको छ / लापत्ता भएको छ। -लेख्ने उज्जवलले आफूलाई विचलनले मागेको काव्यभाषा दिएका छन् भन्न सॉंघुरै पारिदिएका छन् पाठकलाई। अर्कापट्टिको पन्नामा पाठक! कविता लेख्नु सजिलो छैन। -लेख्ने मनोज वोगटीले शब्दमा यसो भन्नुभन्दा आफ्ना कविताको गुणवत्तालाई स्वंय त्यसो भन्ने योग्यता, अवसर र अवकास प्रदान गर्नु उचित हो भन्ठान्छ पाठक। सीता दु:खी भइन्  सोझै भन्दा कविता हुँदैन। त्यसलाई बिम्ब आदिले नाटकीकरण गर्दा त्यो कविता हुन्छ। यसरी सोझै भनिएकोमा काव्यदोष रहन्छ- स्वशब्दवाच्यता आदि। हॉंचमा हेर्दा सुधीरमा भाव र अभिव्यक्तिको आफ्नोपन अलिक खुलेको देखिन्छ। उज्जवलझैं द्रुत नकुदेर द्रवित हिँडाइ हिँड्ने उनमा गाम्भीर्यका सम्भावनाहरू पङ्क्तिका आँखीझ्यालहरूबाट गोलाइ-गोलाइमा
चिहाइरहेका भेटिन्छन्।
      हुन त ठिक र नठिक साहित्यमा ठहर गर्ने आधारहरू पनि पाङ्ग्रादार छन्। एउटै स्वच्छन्दतावादी लेखनका  प्रवर्तनकर्त्ताहरू कलरिज र वर्ड्स्वर्थ कविताको भाषा कस्तो हुनुपर्छ भन्नेमा दुई विपरीत ध्रुवतिर फर्किएका छन्। उता वर्ड्स्वर्थका विचारमा कविताको भाषा सामान्य व्यवहारको गद्यसँग जति नजिक पुग्नसक्यो उति उत्तम, यता कलरिजका दृष्टिमा कविताको भाषा
सामान्य व्यवहारको भाषाभन्दा जति टाढा, जति भिन्न, जति विचलनपूर्ण हुनसक्यो उति उत्तम। तर वर्ड्स्वर्थका उत्तम कविताहरूको भाषा हेर्दा पाठक आफैआफ कलरिजका पक्षमा मतदान गर्नपुग्दछ। कवि-साहित्यकारहरू खालि कृतिका निर्मातामात्र होइनन्। उनीहरू काव्य-माध्यम अर्थात् भाषाको आफ्नो मौलिक चरित्र, वैशिष्ट्य र आढ्यताका अन्वेषक र उन्नायक पनि हुन्। लाम छोडेर क्यू, हताशा फालेर फ्रस्ट्रेसनत्, मुटु त्यागेर हार्ट, हराएको भन्न बिर्सेर निखोज, गति फालेर रफ्तार, ग्राहक नरुचाएर कस्टमर, पुनर्वासलाई मिल्काएर रिह्याबिलिटेसन, गिद्धसँग घिनाएर
भल्चर, पुनर्चालन भन्न नखोजीकन रिसाइक्लिङ आदि अघिकाहरूले वाक्क लागिञ्जेल लेखे र त्यसमा कुनै विचलन अब रहेन साहित्यका लागि। विचलन-ले आफ्नै मौलिक वाग्धारा विकास गर्नुपर्ने हो। नेपाली भाषाको आत्मा खोतलेर-खनेर-उधिनेर निकालिएको नयॉं कवितामय र स्वत्वपूर्ण वाग्धारा। स्वत्वविहीन र मिस्कट भाषा लेख्नु नै उत्तरआधुनिकता हो भन्ने भ्रान्त धारणाका प्रचारकहरू पनि छन् कति हामीमाझ। यत्तिखेर उत्तरआधुनिकताका सन्दर्भमा मनमा राख्नैपर्ने दुईवटा कुरा के हुन् भने भाषिक मिस्कट प्रयोग उत्तरआधुनिक लेखनमा पाइन्छ, तर भद्दा फोहोर मिस्कट भाषा लेख्तैमा उत्तरआधुनिकता भइहाल्छ भन्ठान्नु मुर्खता मात्र हो। अर्को कुरा, उत्तरआधुनिकता एउटा चेतनाको कुरा हो, लेखनको अनिवार्यता होइन। उत्तरआधुनिक नभईकन कुनै कृति महान् बन्दैन भन्नु पनि तर्कसम्मत कुरा होइन।
    उपनिवेशवादी वाग्धाराबाट आफूलाई मुक्त पार्ने अभीष्ट विचलन-मा नहोला? साहित्यमा आफ्नो जातीय भाषा, संस्कृति र समाजको आत्मा बोलेको हुन्छ। तर विगत आधा शताब्दीको हाम्रो साहित्य, र खासगरी कविताले कतिसम्म हाम्रो भाषा र संस्कृतिको आढ्यता झल्काउन सकेको छ ? अथवा, आफूलाई कता कताका म्लेच्छ पङ्क्ति र अभिव्यक्तिहरूले घिस्याएर नाकडोरी लगाउँदै
हाम्रो भाषिक मौलिकता र सौन्दर्यको खिल्ली उडाएर फोहोर भद्दा अभिव्यक्तिहरूको उरुङ थुपार्ने घुर्‍यानमात्र बनाउने सुकुलगुन्ड्याइँ मात्र पो गरेको छ कि? -विचलन-ले यसको ठिक ठिक निरीक्षा गरेर अबको लेखनलाई चोखो, वा अझ भनूँ क्चोक्खोत् नेपाली लेखन पार्न उद्यम नगर्ला ?
उत्तरआधुनिकताको डङ्का कति स्वास्थ्यकर छ हामीलाई! -पनि नसोच्ला ?
     यस्ता थाक उभिएका छन् प्रश्‍नहरू पाठकका मनमा। विचलन-का नव-उद्यमीहरूले हात लगाइदेलान् तिनका उत्तर उसलाई। साहित्य लेखन एउटा कत्तिको ठुलो उत्तरदायित्वको कुरा हो भन्ने बुझेकै छन् लेखनतर्फ अघिसराहरूले। नेपाली भाषाको निर्मल, सरल र मौलिक अनुहारलाई अङ्ग्रेजी-
हिन्दी आदिका फोहोर कसिङ्गरले छोप्दै लगिरहेछन्। भगवान् हुनुको सजा, जगह जगह उम्रिरहेका, रिजरेक्सनको बीग्टक छॉंट्दै जस्ता अभिव्यक्तिले चोखो मौलिक नवलेखनको प्रतीक्षु पाठकलाई ठाडै लोप्पा ख्वाउँछन् र हतास पार्दछन्।
     तर थुप्रै छन् नयॉं मनपर्दा ताजा अभिव्यक्तिहरू पनि यिनीहरूका रचनामा र ती ती ठाउँ पुग्दा त्यस्सै विचलन लेख्तैछौं भनेका छैनन् विचलन-का यी नव-उद्यमीहरूले भन्ने निष्कर्षमा पुग्छ पाठक र पुन आशान्वित बन्दछ। अनि सतर्क गराउन खोज्दै भन्छ उनीहरूलाई-
                             सिसृक्षु कवि!
                              कविता लेख्नु सजिलो छैन।
Comments